कोभिड १९ को महामारीबीच वीरगन्जका विद्यालय सञ्चालन



कृष्णउदास खनाल , वीरगन्ज ।

निरोना कहरका कारण लामो समयदेखि बन्द रहेका वीरगन्जका विद्यालयहरु आइतबारबाट सञ्चालनमा आएका छन् । वीरगन्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारबाट सञ्चालनमा आएका हुन् ।

वीरगन्ज महानगरपालिकाले आइतबारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो । महानगरपालिकाले गएको बुधवार आयोजना गरेको सरोकारवालाहरूको छलफलले विद्यालय खोल्न महानगर नेतृत्वलाई आग्रह गरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णयमा पुगेको नगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएका विद्यालय अहिलेसम्म पुनः सञ्चालनमा आउन सकेका छैनन् । वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रणमा आएकाले महानगरले डेढ महीनाअघि नै विद्यालय सञ्चालन गर्न खोजेको थियो । जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति नदिएकाले अहिलेसम्म विद्यालय सञ्चालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताउनुभयो ।

कोरोना नियन्त्रणमा आएकाले ‘ग्रीन जोन’मा परेको वीरगन्जमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने महानगरले बताउँदै आएको थियो । स्थानीय प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संकट व्यावस्थापन केन्द्रले स्वीकृति दिएको थिएन । यसअघि मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेकाले मन्त्रिपरिषद्बाटै पुनः सञ्चालनको निर्णय आएमात्रै विद्यालय चलाउन पाइने अडान केन्द्रको रहँदै आएको छ । स्थानीय प्रशासनको अडानका कारण विद्यालय खुलाउने डेढ महीनादेखिको प्रयास असफल भएपछि नगर प्रमुख सरावगीले सरोकारका पक्षको भेला राखेर सहयोगको आग्रह गर्नुभएको हो । राजनीतिक दल, शिक्षक संघ संगठनका अगुवा, अभिभावकलगायतको सहभागिता रहेको छलफलले विद्यालय खोल्नुपर्ने निष्कर्ष निकालेपछि महानगर विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको हो । शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने भएपनि स्थानीय प्रशासनको असहयोगका कारण विद्यालय बन्द गर्नुपरेको गुनासो सरावगीले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्