इंग्ल्यान्ड रूटको ब्याटिङमा रन बटुल्दै



लन्डन, (एजेन्सी) ।

घरेलु टोली इंग्ल्यान्डले भ्रमणकारी टोली भारतको विशाल स्कोरविरुद्ध कप्तान जोए रूटको शानदार ब्याटिङको सहयोगमा रन बटुलिरहेको छ ।

लर्डस्मा जारी यी दुई टोलीबीचको दोस्रो टेस्टमा भारतले पहिलो इनिङमा ३ सय ६४ रनको ठूलो योगफल बनाएको थियो । यसको जवाफमा इंग्ल्यान्डले तेस्रो दिन शनिबार ३ विकेटको क्षतिमा २ सय रन पार गरिसकेको छ । इंग्ल्यान्डको लागि कप्तान रूटले शानदार ब्याटिङ प्रस्तुत गरिरहेका छन् । यो समाचार बनाउन्जेल इंग्ल्यान्डले ३ विकेटको क्षतिमा २ सय १० रन जोडेको छ । जसमा, बेयरस्टोले अर्धशतक प्रहार गरे भने रूट शतकतिर अग्रसर छन् ।

इंग्लिस टोलीको रूटको ब्याटिङमाथि नै बढी निर्भर भएको छ । गत साता समाप्त भएको पहिलो टेस्टमा पनि रूटले नै इंग्लिस टोलीको उद्दार गरेका थिए । उनले शतक प्रहार गरेपछि भारतसमक्ष इंग्ल्यान्डले २ सय ९ रनका सम्मानजनक लक्ष्य दिन सफल भएको थियो । यद्दपि, यो खेल वर्षाको भेट हुँदा नतिजा बराबरी आएको थियो ।

जारी दोस्रो टेस्टमा पनि इंग्ल्यान्ड भारतको विशाल रनको अघि कमजोर देखिएको छ । क्रिजमा रूटलाई जोनी बेयरस्टोले साथ दिइरहेका छन् । बेयरस्टो अर्धशतकतिर अग्रसर छन् । तेस्रो विकेट १ सय ८ स्कोरमा रोरी बन्र्सको रूपमा पतन भएसँगै दोस्रो दिन इंग्ल्यान्डले ३ विकेटको क्षतिमा १ सय १९ रनमा समाप्त गरेको थियो ।

उक्त स्कोरबाट शनिबार खेल्न शुरू गरेपछि रूट र बेयरस्टोले चौथो विकेटका लागि १ सय रन जोडिसकेका छन् । त्यसो त दोस्रो विकेट २३ रनमा गुमाएपछि रूट र बन्र्सले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । बन्र्स अर्धशतक नजिक पुग्दा मोहम्मद शामीको शिकार भए । उनी ४९ रनमा आउट भएका थिए ।

यसअघि, भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए । उनको सहयोगमा भारतले बलियो स्कोर बनाउन सफल भएको थियो । राहुलले १२ चौका र १ छक्का प्रहार गरेका थिए । उनको यो छैटो टेस्ट शतकसमेत थियो ।

प्रतिक्रिया दिनुहोस्