बेन्टफोर्डसँग आर्सेनल स्तब्ध



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा बेन्टफोर्डसँग बलियो आर्सेनल स्तब्ध भएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलका ‘बिग सिक्स’ मध्येको एक टिम भनेर चिनिने आर्सेनलले नयाँ सिजनकोे पहिलो लिग खेलमै लज्जास्पद हार व्यहोरेको हो । शुक्रबार राति भएको सिजन २०२१–२२ को उद्घाटन खेलमा यसै सिजन शीर्ष लिगमा बढुवा भएको ब्रेन्टफोर्डले आफ्नो घरेलु मैदानमा आर्सेनललाई २–० गोलअन्तरले स्तब्ध बनायो ।

पाहुना टोली बनेर सिजनको पहिलो म्याच खेल्न ब्रेन्टफोर्डको घरेलु मैदानमा पुगेको आर्सेनल नयाँ टिमसँग निरीह बनेको थियो । यता, ब्रेन्टफोर्डले भने आफ्नो क्लब इतिहासमा ७४ वर्षपछि पहिलोपटक शीर्ष फुटबल लिगमा उक्लदा गोलसमेत गर्न सफल भयो । त्यतिमात्र होइन, बेन्टफोर्डले आर्सेनललाई पहिलो खेलमै अप्रत्यासित हारको स्वाद चखायो ।

आफ्नो घरेलु मैदानमा ब्रेन्टफोर्डलाई जिताउनेक्रममा खेलको २२औं मिनेटमा सेर्गी कानोसले पहिलो गोल गरेका थिए । त्यसपछि चर्को दबाबमा परेको आर्सेनल तत्कालै खेलमा फर्कन सकेन । खेलमाथि पूर्ण दबाब बनाएर खेले पनि आर्सेनलले ब्रेन्टफोर्डको रक्षापंक्ति तोड्न सकेन । त्यत्तिबेला आर्सेनलको खेलमा फर्किन प्रयास समाप्त भयो, जतिबेला ब्रेन्टफोर्डका लागि क्रिस्टिएन नर्गाडले खेलको ७३औं मिनेटमा दोस्रो गोल गर्‍यो ।

आर्सेनलले खेलभरिमा कुल २२ सट हाने पनि एउटा पनि गोलमा परिणत हुन नसक्दा खेल ब्रेन्टफोर्डले खेल २–० ले जित्यो । यो जितपछि नयाँ टिम ब्रेन्टफोडर्ले ३ अंक बटुलेको छ ।

बार्यन बराबरीमा रोकियो

नयाँ सिजन २०२१–२२ अन्तर्गत जर्मनीको शीर्ष फुटबल लिग बुन्डेसलिगामा बलियो टोली बार्यन म्युनिख सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको नयाँ सिजनकोे उद्घाटन खेलमा बार्यन र मोन्चेङ्लाडवाचले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मोन्चेङ्लाडवाचको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बार्यनविरुद्ध खेलको १०औं मिनेटमै सुन्दर गोलका साथ मोन्चेङ्लाडवाचले अग्रता लिएको थियो । उत्कृष्ट अट्याकिङ मुभमा सो गोल अलास्साने प्लेयाले लो सटमा गरेका थिए । उनको कडा प्रहार बार्यनका गोलकिपर म्यानुल निउरले रोक्ने मौका नै पाएनन् ।

तर, बार्यन खेलको ४२औं मिनेटमा खेलमा फर्कियो । स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले नयाँ सिजनको पहिलो खेलमै गोल गर्न सफल भए । कर्नर किकबाट आएको बलमा डीबक्सभित्र रहेका लेवान्डोस्कीले सजिलैसँग बललाई भली सटमा जाली चुमाएपछि खेलमा १–१ को बराबरी भयो । योसँगै लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेसलिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले बुन्डेसलिगाका पछिल्ला ११ खेलमा गोल गर्न सफल भएका छन् । यस क्रममा उनले १८ गोल गर्न सफल भएका छन् ।

त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि दुवै टोलीले बराबरीमा चित्त बुझाउँदै नयाँ सिजनको पहिलो खेलबाट समान अंक बाँड्न बाध्य भए ।

भ्यालेन्सियाको जित

यस्तै स्पेनी ला लिगाको यस सिजनमा भ्यालेन्सियाले जितबाट शुरूवात गरेको छ । शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले गेटाफेलाई १–० गोलअन्तरले हराएको हो । टोलीको जितमा कार्लोस सोलेरले निर्णायक गोल गरेका थिए । उनले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै टोलीलाई जित दिलाउन पर्याप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्