चेल्सीलाई युइएफए सुपर कपको उपाधि



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग टोली चेल्सीले वर्ष २०२१ को युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको उपाधि भिडन्तमा गत सिजनको युरोपियन च्याम्पियन्स लिग विजेता चेल्सीले स्पेनिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल थप ३० मिनेटको समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

उक्त खेल उत्तरी आयरल्यान्डको विन्डसोर पार्क रंगशालामा भएको थियो । इंग्लिस च्याम्पियन टिमलाई स्पेनको ला लिगा खेल्ने भियारियलले खेलभरि नै कडा टक्कर दिएको थियो । तर, पेनाल्टी सुटआउटमा चुक्दा उपाधि जित्नबाट वञ्चित बन्यो । चेल्सीले खेलको २७औं मिनेटमा शुरूवाती अग्रता लिएको थियो । सो गोल युवा खेलाडी हाकिम जियाचले गरेका थिए । सोही गोलको अग्रता लिएर चेल्सी अघि बढेको थियो । त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भियारियलले खेलको ७३औं मिनेटमा बराबरी गोल फर्कायो ।

भियारियलका लागि जेरार्ड मोरेनोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित नब्बे मिनेटको समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल थप समयमा धकेलियो । तर, ३० मिनेट थप गरिएको समयमा पनि हार–जित निर्णय नभएपछि खेल पेनाल्टी सुटआउटमा गयो ।

पेनाल्टी सुटआउटमा दुवै टिमले ७–७ पेनाल्टी प्रहार गरेका थिए । चेल्सीका युवा खेलाडी काई हाभर्ट्जको पहिलो पेनाल्टी भियारियलका गोलकिपरले बचाएका थिए । त्यसपछि लगत्तै भियारियलका आइसा म्यान्डी पनि पेनाल्टीमा चुके । उनको पेनाल्टी चेल्सीका गोलकिपरले बचाए । सो पेनाल्टीपछि चेल्सीले लगातार ६ पेनाल्टीमा गोल हान्यो । चेल्सीले सातौं पेनाल्टीमा गोल गर्दा खेल ६–५ थियो ।

सो बेला भियारियललाई बराबरीका लागि सातौं पेनाल्टीमा गोल आवश्यक थियो । तर, राउल अल्वायोलले प्रहार गरेको पेनाल्टी चेल्सीका गोलकिपरले बचाएपछि खेल चेल्सीले ६–५ ले जित्दै उपाधि उचाल्यो । दुईवटा पेनाल्टीमा असफल हुनु नै भियारियलका लागि महँगो सावित बन्यो । चेल्सीका लागि सेसर एज्पिलिक्वेटा, मार्काेस अलन्सो, मासन माउन्ट, जर्गिन्हो, क्रिस्टियन पुलिसिस र एन्टेनियो रुडिगरले गोल गरे । भियारियलका पेर्भिस स्टुपिनान, मोइ गोमेज ड्यानियल रावा र जुआन फोयथले गोल गरेका थिए ।

पेनाल्टीका लागि प्रशिक्षक थोमस टुचेलले गोलरक्षक मेन्डीलाई बाहिर राख्दै केपालाई अवसर दिएको थियो । उनले दुई पेनाल्टी बचाउँदा प्रशिक्षक टुचेल रणनीतिमा सफल भयो । सुपर कपमा अघिल्लो सिजनको च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच प्रतिस्पर्धा हुने गर्दछ । गत सिजन च्याम्पियन्स विजेताको हैसियतमा चेल्सी र युरोपा लिग विजेताको हैसियतमा भिया रियलले नयाँ सिजनको पूर्वसन्ध्यामा बुधबार राति सुपर कपको उपाधिका लागि एकअर्काको सामना गरेका हुन् ।

चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै गत सिजनको च्याम्पियन्स लिगको विजेता बनेको थियो । भियारियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्