नेपालको फिफा वरीयता सुधार



काठमाडौं, (नेस) ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अगस्ट महिनाका लागि निकालेको पुरुष फुटबल वरीयतामा नेपालको चार स्थान सुधार भएको छ ।

नयाँ वरीयता अनुसार नेपाल फिफा वरीयताको १६८औं स्थानमा उक्लेको छ । नेपालले कुल ९७२ अंक बटुल्दै सो वरीयता हासिल गरेको हो । यसअघि नेपाल वरीयताको १७२औं स्थानमा थियो । दक्षिण एसियामा यो महिना वरीयता सुधार गर्ने नेपाल एक्लो टोलीसमेत हो । साथै दक्षिण एसियाली राष्ट्रतर्फ नेपाल तेस्रो स्थानमा छ ।

त्यस्तै, फिफा वरीयताको १०५औं स्थानमा झरेको भारत दक्षिण एसियाको पहिलो स्थानमा नै छ । यसअघि १०१औं स्थानमा रहेको भारत यसपटक चार स्थान तल झरेपछि १०५औं स्थानमा पुगेको हो । त्यस्तै, साफ च्याम्पियन माल्दिभ्स पनि दश स्थान तल झर्दै १५८औं स्थानमा पुगेको छ । माल्दिभ्स दक्षिण एसियाको दोस्रो स्थानमा छ । फिफा वरीयतामा यथावत रहेको भुटान १८७औं स्थानमा छ । भुटान दक्षिण एसियामा चौथो स्थानमा उक्लिएको छ । भुटानले बंगलादेशलाई उछिन्न सफल भएको छ ।

फिफा वरीयतामा आठ स्थान तल झर्दै बंगलादेश १८८औं स्थानमा पुगेको हो । बंगलादेश दक्षिण एसियातर्फ भने पाँचौं स्थानमा छ । त्यस्तै, हाल फिफाको कारबाहीमा परे पनि जारी नयाँ वरीयतामा पाकिस्तान १९८औं स्थानमा छ भने ६ स्थान तल झरेको श्रीलंका फिफा वरीयताको २०५औं स्थानमा छ ।

त्यस्तै, फिफा वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । दक्षिण अमेरिकी महारथी ब्राजिल दोस्रो स्थानमा रहँदा विश्व च्याम्पियन फ्रान्स तेस्रो स्थानमा छ । त्यसै गरी एसियाली राष्ट्र जापान फिफा वरीयताको २४औं स्थानमा रहेको छ । जापान एसियाको शीर्ष स्थानमा छ । २६औं स्थानमा रहेको इरान एसियाको दोस्रो स्थानमा छ भने ३५औं स्थानमा रहेको अस्ट्रेलिया तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्