सात मिनेटमा डेढ लाख जर्सी बिक्री



पेरिस, (एजेन्सी) ।

लियोनेल मेसीको नाम लेखिएको ३० नम्बर अंकित पेरिस सेन्ट जर्मेन पीएसजीको जर्सी सात मिनेटभित्र डेढ लाख बिक्री भएको जनाइएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पीएसजीले तयार पारेको मेसीको नाम लेखिएको डेढ लाख जर्सी सात मिनेटभित्र सबै बिक्री भएको जनाएका हुन् । बिहान १० बजेबाट अनलाइनमार्फत बिक्री वितरण शुरू गरिएको उक्त जर्सी सात मिनेटभित्रै सकिएको बताएको हो । १ सय ६० युरो मूल्य रहेको उक्त जर्सीको बिक्रीबाट पीएसजीले सात मिनेटभित्र २ करोड ४० लाख युरो व्यापार गरेको बताइएको छ । त्यतिमात्रै होइन, हजारौंको संख्या उक्त जर्सीको अर्डर पनि आउन थालेको जनाइएको छ ।

मेसी लेखिएको जर्सी फिर्ता

लियोनल मेसीले बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएसँगै मेसी लेखिएका आगामी सिजनको बार्सिलोनाका जर्सी पसलबाट एकाएक हराउन थालेका छन् ।

पसलले अहिले मेसीको नाम भएका बार्सिलोनाको नयाँ जर्सी क्लबलाई नै फिर्ता पठाउन थालेका हुन् । फिर्ता हुने ती जर्सीहरू बार्सिलोनाले दुई महिनाभित्र उत्पादक कम्पनी नाइकीलाई फर्काउनु पर्नेछ । फिर्ता गरिएका जर्सी के गर्ने भन्ने निर्णय भने जर्सी उत्पादक कम्पनी नाइकीको हुनेछ ।

कुनै खेलाडीको आधिकारिक जर्सी प्रिन्ट गरिसकेपश्चात् क्लब छाडेको खण्डमा यस्तै गरिने नियम रहेको छ । यसअघि २०१७ मा नेयमारले बार्सिलोना छाडेर पीएसजी जाँदा पनि यसै गरी उनको नाम र नम्बर प्रिन्ट भएका जर्सी भटाभट बार्सिलोनालाई नै फिर्ता गरिएका थिए । त्यसको उचित व्यवस्थापन गर्न बार्सिलोनाले नाइकीलाई जर्सी फिर्ता गरेको थियो ।

एक वर्षमा बिक्ने बार्सिलोनाका जर्सीमध्ये ८० प्रतिशत जर्सी मेसीका हुने गरेका थिए । अर्थात्, बार्सिलोनाका १० वटा जर्सी बिक्री हुँदा तीमध्ये ८ वटा मेसीको नाम लेखिएको १० नम्बर अंकित जर्सी हुन्थे । यसबाट बार्सिलोनाले न्यूनतम वर्षको ३० मिलियन युरो कमाउने गरेका थिए ।

मेसी गएपछि बार्सिलोनाले अब मेम्फिस डिपेको जर्सी बेच्ने लक्ष्य लिएको छ । डिपेको जर्सी मेसीको जति नबिकेपनि उनले कम्तीमा ५० प्रतिशत बिक्री धान्नेमा बार्सिलोना आशावादी रहेको डायगनल इन्भर्जन्सका प्रमुख निर्देशक मार्क सिरिआले बताएका छन् ।
पीएसजीका फलोअर्स बढे

लियोनल मेसी पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध भएपछि सामाजिक सञ्जालमा पीएसजीका फलोअर्स लाखौं बढेका छन् । एक्टिभीटी ट्रायकर टकवाकरले जनाएअनुसार शुक्रबार बेलुकीदेखि मंगलबार बेलुकीसम्म पीएसजीको फलोअर्स ३ मिलियन (३० लाख) संख्यामा पुगेको छ । इन्स्टाग्राममा २१ लाख र फेसबुकमा ६ लाख ११ हजार फलोअर्स बढेका हुन् । गएको २४ घण्टामा इन्स्टाग्राममा ४५ लाख संख्या बढेको पनि जनायो ।

प्रतिक्रिया दिनुहोस्