मेसीको लक्ष्य फेरि च्याम्पियन्स लिग जित्ने



पेरिस, (एजेन्सी) ।

बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा मंगलबार आबद्ध भएका लियोनल मेसीले च्याम्पियन्स लिग जित्ने लक्ष्य रहेको बताएका छन् ।

बुधबार पहिलोपटक पीएसजीका खेलाडीको रूपमा परिचय गराउँदै मेसीले पत्रकारसामु च्याम्पियन्स लिग जित्ने सपना र लक्ष्य भएको बताएका हुन् । मेसीले पछिल्लोपटक च्याम्पियन्स लिग सन् २०१५ मा जितेका थिए । बार्सिलोनाबाट उनले चारपटक सो उपाधि हात पारेका थिए । बार्सिलोनामा नयाँ सम्झौता हुन नसकेपछि मेसीले पीएसजी रोजेका हुन् ।

बार्सिलोनाको १७ वर्षको करिअर समाप्त गरेका मेसीले बताए–‘म यहाँ (पेरिस) आउनुको कारण च्याम्पियन्स लिग जित्नु नै हो । अभ्यास पनि छटो नै होस् भन्ने चाहन्छु । मेरो नयाँ जीवन शुरू हुन गइरहेको छ । यो क्लब (पीएसजी) हरेक ट्रफीका लागि तयार देखिएको छ । मैले क्लबका लागि च्याम्पियन्स लिग जित्न सपना र लक्ष्य राखेको छु । म फेरि एकपटक च्याम्पियन्स लिग जित्न चाहन्छु ।’

पुरानो क्लब बार्सिलोनाविरुद्ध खेल्नु पर्दा कस्तो होला ? भनेर प्रश्न गर्दा मेसीले बताए–‘यो अजीव नै हुनेछ, बार्सिलोना मेरो घर हो । म त्यही हुर्केको हुँ । मेरो सफल जीवन त्यहीं भएको हो । तर, मलाई थाहा छैन बार्सिलोनामा गएर उनीहरूविरुद्ध अर्को रंगको जर्सी लगाएर खेल्नु पर्दा, त्यो क्षण शायद अजीव नै हुनेछ होला । हेराै‌, त्यो क्षण पनि आउनेछ ।’

मेसीले ३० अंक रोजे

अर्जेन्टिना र बार्सिलोनाबाट खेल्दा १० अंक अंकित जर्सी लगाएर खेलेका मेसीले पीएसजीबाट ३० अंक अंकित जर्सी लगाएर खेल्ने भएका छन् । उनले बार्सिलोनाबाट शुरूवाती करियरमा पनि ३० अंककै जर्सी लगाएर खेलेका थिए । त्यतिबेला ब्राजिली खेलाडी रोनाल्डिन्होले १० अंकको जर्सी लगाएर खेल्थे । रोनाल्डिन्होले बार्सिलोना छाडेपछि मेसीले बार्सिलोनामा १० अंक पाएका थिए । पीएसजीमा रहेका अर्का बाज्रिली खेलाडी नेयमार जुनियरले मेसीलाई आफ्नै १० अंकको जर्सी दिने प्रस्ताव पनि राखे । तर, मेसीले उनको प्रस्तावलाई स्वीकार गरेनन् र ३० अंकको जर्सी लगाउने स्वीकारेका छन् ।

मेसीको आगमनले पीएसजीमा आर्थिक डामाडोल

एक क्लबले सुपरस्टार खेलाडीलाई आफ्नो टिममा ल्याउँदा आर्थिकरूपमा कति फरक पर्छ भन्ने कुरालाई लियोनल मेसीले प्रमाणित गरिदिएका छन् । पहिले सबै राम्रो चलिरहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) मा मेसीको आगमनसँगै आर्थिकडामाडोल भएको छ । फ्रेन्च वान लिग टिम पीएसजीले बार्सिलोनाका सुपरस्टार मेसीलाई मंगलबार अनुबन्ध गरेको हो । मेसीलाई पीएसजीले दुई वर्षको लागि अनुबन्ध गर्दा प्रति वर्ष ३५ मिलियन युरो दिने सम्झौता भएको छ ।

मेसी आएपछि पीएसजीले आर्थिक स्थिति सन्तुलित गर्न अब केही खेलाडी बेच्नुपर्ने भएको छ । स्पेनी अखबारले जनाएअनुसार पीएसजीले आफ्ना १० खेलाडीलाई बेच्नुपर्ने अवस्था आएको छ । मेसीलाई टिममा समावेश गरेपछि पीएसजीको तलब ३ सय मिलियनभन्दा बढी युरोमा पुग्ने देखिएको पनि स्पेनी अखबारले जनायो । पीएसजीले इड्रिससँगै थिलो केहरेर, अब्डोउ डियालो, राफिन्हा, इकार्डी, एन्डर हेरेरा, सर्जियो रिको, अल्फोन्सो एरेओला, लाएभिन कुरजावा र पाब्लो साराबियालाई बेच्न सक्नेछ ।

भन्नैपर्दा मेसीको पीएसजीमा आगमनले ती खेलाडी बलिका बोका बनेका छन् । मिडियामा मेसीलाई अनुबन्ध गरेको रकम ३५ मिलियन युरो देखाए पनि फ्रेन्च अखबारले उनलाई ४० मिलियन युरोमा सम्झौता भएको दाबी गरेको छ । यो फिगर नेयमारको भन्दा बढी भएको पनि उक्त अखबार जनायो । क्लबले मेसीको व्यवसायिक आकर्षण र विश्वभरि प्रख्यात भएको हिसाबले पनि उनीमाथि विश्वास गरेर लगानी गरेको हो ।

पीएसजीका लगानीकर्ता कतारी अल खेलाइफीको मेसी क्लबमा ल्याउने ठूलो सपना थियो । उनको सपना पूरा पनि भएको छ । उनी गत वर्ष नै मेसीलाई अनुबन्ध गर्ने निकट पुगेका थिए । गत वर्ष मेसीले बार्सिलोना छाड्ने निर्णय लिएपछि बार्सिलोनाका अध्यक्षले उनलाई फ्रिमा छाडेका थिएनन् । उनको चर्को मूल्य तिर्नुपर्ने शर्त राखेपछि कतारी मालिक पछि हटेका थिए । यसपटक भने उनी अर्जेन्टिनी फरवार्डलाई क्लबमा ल्याउन सफल भए ।

मेसी पटकपटक अपमानित भए

लियोनल मेसीले बार्सिलोना छाड्नु कुनै आश्चर्य नभएको स्पेनी अखबारले जनाएको छ । सो अखबारको अनुसार मेसी बार्सिलोनामा पटक पटक अपमानित भएको छ । यसअघि सन् २०१४ मा मेसीले बार्सिलोना छाड्ने मन बनाएका थिए । त्यतिबेला पनि उनी पीएसजी जाने सोचमा थिए । तर, बार्सिलोनापूर्व प्रशिक्षक टिटो भिलानोभाले उनलाई सम्झाए–‘तिमी यहाँभन्दा अरू कुनै ठाउँमा गएमा खुशी हुने छैनन् ।
मेसीले आज्ञाकारी छात्रले झैं टिटोको कुरा माने र बार्सिलोनामै रहेका थिए । त्यसको दुई वर्षपछि मेसीले आफू अपमानित भएको महसुस गरेका थिए । उनले फेरि भने कि बार्सिलोना छाड्न चाहन्छु । उनले बताए कि बार्सिलोना मात्रै होइन स्पेन नै छाड्ने मन भएको छ ।

यसपछि सन् २०२० मा च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखविरुद्धको खेलमा बार्सिलोनाले ८–२ को लज्जास्पद पराजय भोगेको थियो । उनले सिजनको अन्त्यमा क्लब छाड्ने बताए । मेसीको कुरालाई बार्सिलोनाले गम्भीरतापूर्वक लियो र मेसीलाई बार्सिलोनामै बस्न बाध्य तुल्यायो पनि । यतिबेला पीएसजीले मेसीलाई अनुबन्ध गर्न लागेको थियो बार्सिलोनाले क्लोज ट्रान्सफर भारी रकम उल्लेख गरिदिँदा पीएसजीमा जाने सपना त्यसै तुहियो ।

बार्सिलोना र स्पेन छाड्दाको पीडा

मेसी स्पेनमा ६ वर्षको उमेरदेखि बसेका थिए । उनले त्यहाँ करिब ३० वर्ष बिताएका थिए । एक प्रकारले उनले स्पेनलाई नै आफ्नो देश मानेका थिए । उनको त्यही बसाईमै थियागो (२०१२), माटियो (२०१५) र सिरो (२०१८) छोराहरू जन्मेका हुन् । उनीहरूले स्पेनलाई आफ्नै घर सम्झेका थिए । तर, छाड्नु पर्दा मेसी र उनका परिवारलाई निकै पीडा भएको मेसीले जनाए । उनी यसैले पनि प्रेस कन्फ्रेन्समा भावुक हुँदै रोएका थिए । उनको आँसुले देखाउँछ कि उनीमाथि बार्सिलोनाले युज एन्ड थ्रो को प्रवृति अपनाएको सावित गर्छ । तर, मेसीले पेरिस उड्नअघि भनेका छन् कि बार्सिलोना छिटै फर्कनेछन् ।

लियोनल मेसी घटनाक्रममा

  • २५ अगस्ट २०२० – मेसीले क्लबलाई फ्याक्समार्फत् सन्देश पठाएका थिए । जसमा उनलाई तुरुन्तै फ्रिमा क्लबबाट छाड्दिनु लेखिएको थियो ।
  • ४ सेप्टेम्बर २०२० – क्लबले ७ सय मिलियन युरो ट्रान्सफर फि मागेपछि मेसीले बार्सिलोनामै रहने भनेका थिए ।
  • २७ अक्टोबर २०२० – मेसीसँग मनमुटाव भएपछि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बाटोमेउले राजीनामा दिए ।
  • २८ डिसेम्बर २०२० – मेसीले खुलासा गरे कि उनले एकदिन अमेरिकामा खेल्नेछन् ।
  • २२ मे २०२१ – मेसीसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) सम्झौता गर्न नजिक भएकोे ।
  • २८ मे २०२१ – बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले मेसीले नयाँ सम्झौतामा सहमति नजनाएको तर कुरा मिलिरहेको बताए ।
  • १ जुलाई २०२१ – मेसीको बार्सिलोनासँगको सम्झौता अवधि समाप्त भएको । उनी फ्रि एजेन्ट भएको ।
  • १५ जुलाई २०२१ – मेसीले बार्सिलोनामै बस्न सहमति गरेको र २०२६ सम्म पारिश्रमिक कटाएर बस्ने स्वीकार गरेको ।
  • ५ अगस्ट २०२१ – बार्सिलोनाले आर्थिक र संरचनाको बाधाका कारण मेसीले क्लब छाड्न सक्ने घोषणा गरेको ।
  • ८ अगस्ट २०२१ – मेसीले आँसु झार्दै बार्सिलोना छाडेको बताएको र पीएसजीमा सम्भवत जाने बताए ।
  • १० अगस्ट २०२१—बीबीसी स्पोर्टस्द्वारा मेसीले पीएसजीको लागि दुई वर्षको सम्झौता गरेको खुलासा । राति पीएसजीले मेसीलाई अनुबन्ध गरेको घोषणा गरेको ।

प्रतिक्रिया दिनुहोस्