ब्याडमिन्टन निर्णायक कोर्स सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा सञ्चालन भएको भर्चुअल ब्याडमिन्टन राष्ट्रिय निर्णायक कोर्स बुधबार सम्पन्न भएको छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुरूप संघको पहलमा पहिलोपटक राष्ट्रिय निर्णायक कोर्सको आयोजना गरिएको हो । केन्द्रीकृत नीतिलाई विकेन्द्रीकरण गर्दै जाने संघको उद्देश्यअनुरूप संघसँग आबद्ध प्रत्येक जिल्लामा अब कम्तीमा दुई निर्णायक स्थानीय हुनेछन् ।

यसअघि प्रायः जिल्लामा आयोजना हुने प्रतियोगिताहरूमा केन्द्रबाट नै निर्णायकहरूको पूर्ति हुने गरेको थियो । यसका साथै नेपाली सेना, नेपाल एपिएफ कलबमा पनि निर्णायकहरूको अभावलाई पूर्ति गर्नेछ । यसअघि पनि विभिन्न जिल्लाहरूले आफ्नै पहलमा राष्ट्रिय रेफ्री र अन्तर्राष्ट्रिय अम्पायरहरूमार्फत निर्णायक तालिम प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेकोमा संघको कार्यक्रमअनुरूप आधिकारिकरूपमा नै प्रमाण पत्र प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो नै पहिलो निर्णायक तालिम हो

श्रावण १७ गतेदेखि २७ गतेसम्म दुई चरणमा गरेर सञ्चालन भएको कोर्समा सहभागी निर्णायकहरूलाई ब्याडमिन्टन एसियाका सर्टिफाईड अम्पायर दीपक थापाले ब्याडमिन्टन एसियाका एक्रिडियटेड अम्पायरहरू सुमित शाक्य, समन इकवाल र कृतन खड्काले ब्याडमिन्टनको प्राविधिक ज्ञान प्रदान गरेका थिए । सहभागी निर्णायकहरूले नेपाल ब्याडमिन्टन संघले आगामी दिनमा सञ्चालन गर्ने राष्ट्रिय प्रतियोगितामा प्रयोगात्मक परीक्षा लिइने र त्यसैका आधारमा प्रमाण पत्र प्रदान गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने संघले जनाएको छ ।

कोभिड १९ को महामारीको अवस्थमा खेलकुदका कार्यक्रम ठप्प रहेको अवस्थामा नेपाल ब्याडमिन्ट संघले गतिविधि सञ्चालन गरेकोमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले नेपाल ब्याडमिन्टन संघलाई धन्यवाद प्रदान गर्दै कार्यक्रमको सफलताको कामना गर्नुका साथै कार्यक्रममा सहभागीहरूलाई शुभकामनासहित उज्वल भविष्यको कामना प्रदान गरेका थिए ।

ब्याडमिन्टन एसियाका अध्यक्ष एन्टोन सुबोले प्रशिक्षण कार्यको शुभारम्भ गरेकोमा नेपाल ब्याडमिन्टन संघ, अध्यक्ष रामजी बहादुर श्रेष्ठ, प्राविधक टिम र सहभागीलाई धन्यवाद तथा शुभकामना प्रदान गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए । यस्तै अध्यक्ष एन्टोनले ब्याडमिन्टन एसियाका अन्य राष्ट्रले पनि यस कार्यक्रमबाट सिक्नुपर्ने बताए । यस्तै महासचिव मुसा नासिद र कोषाध्यक्ष जसेम कान्सोले पनि कार्यक्रम र सहभागीहरूलाई शुभकामना प्रदान गरेका थिए । यस्तै ब्याडमिन्टन एसियाका टेक्निकल अफिसियल कमिटीका चेयरपर्सन चि चेन सेनले यस्तो कोभिडको महामारीका बेलमा नेपाल ब्याडमिन्टन संघले भर्चुअलमार्फत ब्याडमिन्टनको कार्यक्रम र कोर्स सञ्चालन गरेकोमा संघ तथा प्राविधिक टोलीलाई बधाई र धन्यवाद प्रदान गर्दै कार्यक्रममा सहभागीहरूलाई शुभकामनाका साथ उज्ज्वल भविष्यको कामना गरेका थिए ।

संघले आगामी दिनमा कोर्ट अफिसियलको रूपमा आवश्यक पर्ने जनशक्ति जस्तै म्याच कन्ट्रोल, लाईन जज लगायतको कोर्स कार्यक्रमलाई पनि अगाडि बढाउने सोच राखेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए ।

प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, दैलेख, दोलखा, दाङ, धनकुटा, डोटी, इलाम, सिन्धुपाल्चोक, झापा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, कास्की, काठमाडौं, काभ्रे, महोत्तरी, मोरङ, नवलपरासी, नवलपुर, पर्सा, पाल्पा, पाँचथर, पर्वत, रूपन्देही, सल्यान, संखुवासभा, सर्लाही, सिन्धुली, सोलुखुम्बु, सुर्खेत, तनहुँ, तेह्रथुम, उदयपुर, नुवाकोट, ओखलढुंगा, धादिङ, चितवन, सप्तरी, सुनसरी, एपिएफ क्लब रहेका छन् । यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गुल्मी, बर्दिया र त्रिभुवन विश्व विद्यालय स्पोर्टस् साइन्सले पनि चाहना राखेका कारण प्रशिक्षणमा समावेश गरिएको कार्यक्रम संयोजक नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य एवं प्रशिक्षक थापाले जानकारी गराए । प्रशिक्षण कार्यक्रममा १० महिलासहित ९७ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्