ओलम्पिकका टिभी दर्शक घटे



वासिंगटन,(एजेन्सी) ।

टोकियोमा भएको ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा बढी ३९ स्वर्णपदक जित्ने देश अमेरिकामा यसपटक टेलिभिजनमार्फत् खेल हेर्ने संख्यामा घटेको एउटा तथ्यांकले देखाएको छ ।

अमेरिकामा टेलिभिजनमार्फत् ओलम्पिक प्रसारणको अधिकार पाएको एनबीसी युनिभर्सलले जारी गरेको एउटा रिपोर्टअनुसार जुलाई २३ देखि अगस्ट ८ सम्म भएको ओलम्पिकको प्राइम टाइम दौरान दर्शकहरूको औसत संख्या १ सय ५५ मिलियन रहेको जनाएको हो । यो आंकडासन् १९८८ यता अमेरिकामा कुनै पनि ओलम्पिक खेलको सबैभन्दा कम दर्शक संख्या भएको बताइएको छ । कोरोना महामारीका कारण यस्तो भएको बताइएको छ । सन् १९८८ को ओलम्पिकखदेखि एनबीसीले अमेरिकामा ओलम्पिक प्रसारण गर्दै आइरहेको छ ।

तथ्यांकअनुसार सन् २०१६ मा सम्पन्न रियो ओलम्पिकमा भन्दा यसपटक ४२ प्रतिशत टेलिभिजन दर्शकसंख्या घटेको बताइएको छ ।

रियो ओलम्पिक ताका अमेरिकामा ओलम्पिकको औसत दैनिक दर्शक संख्या २.६७ करोड थियो । जापान र अमेरिकाको समयमा १३ घण्टाको फरक रहेको कारणले पनि यसपटक अमेरिकी दर्शक घटेको देखिएको छ । त्यसअघि लन्डन ओलम्पिक ताका भने औसत दर्शक संख्या ३.११ करोड रहेको थियो ।

यसपटक अमेरिकी टेलिभिजन संख्यामा गिरावट आए पनि एनबीसी युनिभर्सललाई भने फाइदा नै भएको जनाइएको छ । यसपटक एनबीसीले अमेरिकामा ओलम्पिक प्रसारण गर्न एकाधिकार सम्झौताका लागि १ सय मिलियन डलर तिरेको थियो । एनबीसीले भने विज्ञापनमार्फत १ सय २० मिलियन डलर आम्दानी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्