वर्षाले गर्दा भारत जितबाट वञ्चित



लन्डन, (एजेन्सी) ।

जितको निकट पुगेको भारतले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा बराबरी नतिजामै चित्त बुझाएको छ ।

अन्तिम तथा पाँचौं दिन वर्षाको कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा टुंगियो । जितको लागि भारतलाई अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक थियो भने नौ विकेट हातमा थियो । तर, वर्षा बाधक हुँदा भारतले जित्ने मौका गुमायो भने घरेलु टिम इंग्ल्यान्डले राहतको श्वास लिन पायो ।

इंग्ल्यान्डले २ सय ९ रनको विजय लक्ष्य दिएकोमा भारतले १४ ओभरमा १ विकेटको क्षतिमा ५२ रन बनाएको अवस्था थियो । इंग्ल्यान्ड दोस्रो इनिङमा ३ सय ३ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ९५ रनले पछि परेको इंग्ल्यान्डले समग्रमा २ सय ८ रनको अग्रता लिएको थियो ।

इंग्यान्डका कप्तान जो रुटले १ सय ७२ बलमा १४ चौकासहित सर्वाधिक १ सय ९ रनको योगदान दिए । उनको यो टेस्ट करीअरको २१ औं शतक थियो । उनकै कारण इंग्ल्यान्डले टेस्ट बचाउन पनि सकेको थियो । भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले सर्वाधिक पाँच विकेट लिए । शार्दूल ठाकुर र मोहम्मद शिराजले दुई दुई विकेट लिए । मोहम्मद शामीको नाममा एक विकेट रह्यो ।

यसअघि भारत पहिलो इनिङमा ८४.५ ओभरमा २ सय ७८ रनमा अल आउट हुँदै ९५ रनको अग्रता लिएको थियो । ओपनर लोकेश राहुलले २ सय १४ बलमा १२ चौका सहित सर्वाधिक ८४ रनको योगदान दिए । रविन्द्र जडेजाले तल्लोक्रममा ८६ बलमा ८ चौका र १ छक्कासहित ५६ रनको इनिङ खेले ।भारतलाई ओपनर रोहित शर्मा र केएलले पहिलो विकेटका लागि ३७.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो शुरूवात दिलाएका थिए । तर त्यसपछि भारतले थप १५ रन जोड्न प्रमुख चार विकेट गुमाएको थियो । इंग्ल्यान्डका तीव्र गातिका बलर ओली रोबिन्सनले सर्वाधिक पाँच विकेट लिए । जेम्स एन्डरसनको नाममा चार विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्