इन्टर मिलानको जित



लन्डन, (एजेन्सी) ।

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इटालियन सिरी ए क्लब इन्टर मिलानले जित हात पारेको छ ।

इन्टर मिलानले इटालियन सिरी ए कै चिरप्रतिद्वन्द्वी पार्मामाथि २–० गोलअन्तरको सहज जित हात पारेको हो । मिलानको जितमा मार्सेलो ब्रोजोभिक र माटिएस भेसिनोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पार्मामा आइतबार राति भएको खेलको ५९औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा माटिएस भेसिनोले गोल गर्दै इन्टरको जित पक्का गरे ।

त्यस्तै, अर्काे मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब एथ्लेटिको बिल्वाओले १–१ गोलको बराबरी खेलेका छन् । एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुलका लागि डिएगो जोटाले गोल गर्दा बिल्वाओका एलेक्स बेरेनगुएरले बराबरी गोल फर्काए ।

खेलको १३औं मिनेटमा डिएगो जोटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । ५३औं मिनेटमा एलेक्स बेरेनगुएरले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । त्यस्तै, अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मेड्रिड डच क्लब फियोनुर्डसँग २–१ ले पराजित भएको छ । १८औं मिनेटमा ब्रायन लिन्सेनको गोलबाट फियोनुर्डले अग्रता लिएको थियो । ४१औं मिनेटमा यान्निक कारास्को रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि एट्लेटिको समस्यामा परेको थियो । तर, ८३औं मिनेटमा एन्ज कोरेआले गोल गर्दै खेललाई १–१ गोलको स्थितिमा ल्याउँदै एट्लेटिकोलाई खेलमा फर्काएका थिए । ९०औं मिनेटमा नोओफल बान्निसले गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे ।

त्यस्तै, मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मेड्रिड र इटालियन सिरी ए क्लब एसी मिलानले बराबरी खेलेका छन् । अस्ट्रियामा आइतबार राति भएको खेलमा ग्यारेथ बेल पेनाल्टीमा चुक्दा रियल र मिलानले गोलरहित बराबरी खेलेका हुन् ।

खेलको ४०औं मिनेटमा रियलले पेनाल्टी पाए पनि ग्यारेथ बेलले त्यसलाई सदुपयोग गर्न सकेनन् । सान्द्रो टोनाली र डाभिड कालाब्रियाले बेललाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको थियो । तर, बेलको पेनाल्टीलाई मेइगनानले बचाउँदा रियल अग्रता लिनबाट चुक्यो । अब दुवै टोली आ–आफ्नो देशको घरेलु लिगमा खेल्नेछ । रियलले १५ अगस्टमा डिपोर्टिभो एलाभेससँग खेल्दै नयाँ सिजन ला लिगाको शुरूवात गर्नेछ भने मिलानले पनि एक मैत्रीपूर्ण खेलपछि सिरी ‘ए’को नयाँं सिजनको शुरूवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्