बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी



लन्डन, (एजेन्सी) ।

स्पेनिस क्लब बार्सिलोनाले हरेक वर्ष नयाँ सिजनको पूर्वसन्ध्यामा आयोजना गर्ने मैत्रीपूर्ण फुटबल प्रतियोगिता जोआन ग्याम्पर ट्रफीको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले पाहुना टोली इटालियन सिरी ए क्लब युभेन्ट्सलाई ३–० गोलअन्तरले हराएर उपाधि जितेको हो । बार्सिलोनाको टिम ‘बी’ को घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि तीन जना खेलाडीले गोल गरे । पहिलो गोल खेल शुरू भएको तेस्रो मिनेटमै नयाँ फरवार्ड मेम्फिस डिपेले गरेका थिए । युभेन्ट्सको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै उनले सो गोल गरेका थिए ।

त्यसपछि दोस्रो गोेल खेलको ५७औं मिनेटमा मार्टिन ब्रेथवेटले गरे । उनले डीबक्सभित्र अनर्माक रहेको अवस्थामा हेडिङमार्फत् सजिलै गोल गरेर टिमलाई जितको बाटो देखाएका थिए । त्यसपछि तेस्रो गोल खेलको ९२औं मिनेटमा सब्सिच्युट खेलाडी रिकी पुचले गरेपछि खेल बार्सिलोनाले ३–० ले जित्न सफल भयो ।

युभेन्ट्सका पटक–पटकका प्रहार बार्सिलोनाका ब्राजिलियन गोलकिपर नेटोले रोकेर पाहुना टोलीलाई स्तब्ध पारिदिए । उनले पहिलो हाफमा रोनाल्डोको लामो दूरीको कडा फ्रिकिक प्रहार मुस्किलले बचाएका थिए । खेलभरि उच्च प्रदर्शन गरेका नेटोले नै म्यान अफ द म्याच अवार्ड पनि जितेका थिए । यस खेलमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो पहिलो हाफसम्म मात्रै खेलेका थिए । प्रशिक्षकले पहिलो र दोस्रो हाफमा थुप्रै खेलाडी परिवर्तन गरेका थिए ।

बार्सिलोनाले आफ्ना प्रमुख खेलाडी लिओनल मेसीलाई क्लबबाट औपचारिकरूपमा बिदा गरेको दिन नै मैत्रीपूर्ण खेलको उपाधि जित्न सफल भयो । बार्सिलोनाका खेलाडी मेसीको बिदाइ पत्रकार सम्मेलनमा सामेल भएर युभेन्ट्सविरुद्धको खेलमा उत्रिएका थिए ।

आइतबारै बार्सिलोनाको महिला टिमले युभेन्ट्सकै महिला टिमलाई पनि ग्याम्पर ट्रफीमै ६–० को फराकिलो अन्तरमा हराएर उपाधि जित्यो । बार्सिलोनाले यसपाली पहिलोपटक पुरुष र महिला टिमसँग ग्याम्पर ट्रफी खेलेको हो, जसमा दुवै टिमको खेलमा बार्सिलोनाले बाजी मार्न सफल भयो । दुवै खेल एकै क्लबसँग खेलेको हो ।

पुरुष टिमअघि महिला टिमको खेल भएको थियो । महिला टिमले ६–० को फराकिलो अन्तरमा क्लिन सिट सहितको जितले उपाधि जित्दा पुरुष टिमले पनि ३–० को क्लिन सिटसहितको जितका साथ उपाधि जित्यो । विगत वर्षमा भने पुरुष टिमको मात्रै खेल हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्