अन्तिम दिनमा चीनलाई पछिपार्दै अमेरिका बन्यो शीर्ष टिम



टोक्यो, (एजेन्सी) ।

अमेरिकाले टोक्यो ओलम्पिकको अन्तिम दिन चीनलाई पहिलो स्थानबाट हटाएर पदक तालिकामा शीर्ष स्थानमा रहेर ३२ औं ग्रीष्मकालीन ओलम्पिक समापन गरेको छ ।

अमेरिकालाई पदक तालिका पहिलो स्थानमा पुर्‍याउन महिला खेलाडीको प्रमुख भूमिका रह्यो । आइतबार अन्तिम दिनमा अमेरिकालाई महिला भलिबल र बास्केटबल टिमले स्वर्ण दिलाएका हुन् । यस्तै महिलाको ओम्नियम साइक्लिङ इभेन्टमा जेनिफर भालेन्टले अमेरिकाको लागि स्वर्ण जितेकी हुन् । योसँगै पदक तालिकामा अमेरिकाले ३९ स्वर्णसहित पहिलो स्थान हासिल गर्‍यो ।

अमेरिकाले तीन स्वर्ण लिएपछि एक साताभन्दा बढी शीर्ष स्थानमा रहेको चीन ३८ स्वर्णसहित दोस्रो स्थानबाट टोक्यो ओलम्पिक समाप्त गर्न बाध्य भयो । आयोजक राष्ट्र जापान भने २७ स्वर्णसहित तेस्रो स्थानमा रह्यो भने चौथो स्थानमा ग्रेट ब्रिटेन र पाँचौ स्थानमा रसियन ओलम्पिक कमिटी रह्यो । रसियालाई डोपिङको कारण प्रतिबन्ध लगाएपछि उक्त राष्ट्रका खेलाडीले ओलम्पिक कमिटीअन्तर्गत रहेर टोक्योमा प्रतिस्पर्धा गरेका हुन् ।

अमेरिकाको लगातार सातौं स्वर्ण

अमेरिकाले ओलम्पिकअन्तर्गत महिला बास्केटबलमा लगातार सातौं पटक स्वर्ण पदक जितेको छ । टोक्यो २०२० को अन्तिम दिन महिला बास्केटबलको फाइनलमा अमेरिकाले आयोजक जापानलाई ९०–७५ ले निरास पार्दै स्वर्ण जितेको हो । यो अमेरिकी महिला बास्केटबल टिमको लगातार ५५ औं ओलम्पिक जितसमेत हो । उनीहरू पछिल्लोपटक १९९२ ओलम्पिकको सेमिफाइनलमा हारेका थिए ।

यस्तै अमेरिकाले ओलम्पिकअन्तर्गत महिला भलिबल इभेन्टमा पहिलोपटक स्वर्णपदक हात पारेको छ । अमेरिकाले यसअघि महिला भलिबलतर्फ नौ ओलम्पिकमा तीन रजत र २ कांस्यपदक जितेको थियो । पहिलोपटक सो इभेन्टमा स्वर्ण जित्न अमेरिकाले ब्राजिललाई सीधा सेट २५–२१, २५–२०, २५–१४ ले हराएको हो । अमेरिकाको पुरुष भलिबल टिमले १९८४, १९८८ र २००८ मा गरी तीनपटक ओलम्पिक स्वर्ण जितेको छ ।

प्रतिक्रिया दिनुहोस्