बेलायती बक्सरलाई स्वर्ण



टोक्यो, (एजेन्सी)

बेलायतका गलाल यफाइले जापानमा जारी टोक्यो ओलम्पिकको बक्सिङको फ्लाइवेट विधामा स्वर्णपदक जितेका छन् ।

शनिबार कोकुजिकान एरिनामा सम्पन्न बक्सिङको फ्लाइवेट क्याटेगोरीको फाइनलमा यफाइले फिलिपिन्सका कार्लाे पालामलाई हराउँदै स्वर्णपदक जितेका हुन् । २८ वर्षीय यफाइले ४–१ अंकले बाउट आफ्नो पक्षमा पार्दै बेलायतलाई जारी ओलम्पिकमा १९औं स्वर्णपदक दिलाएका हुन् ।

यफाइले पहिलो चरणको बाउटमा कार्लाेलाई शुरूवाती ९० सेकेन्डको खेलमै पराजित गरेका थिए । रजत पदकमा चित्त बुझाएका कार्लाेले फिलिपिन्सका लागि बक्सिङमा स्वर्ण जित्ने पहिलो ओलम्पियन बन्ने लक्ष्य राखेका थिए । सन् २०१६ मा भएको रियो ओलम्पिकमा बेलायतले कुल ६७ पदक जितेको थियो भने २०१२ मा लन्डनमा भएको प्रतियोगितामा ६५ पदक हात पारेको थियो ।

स्वर्णमा थोम्पसनको ह्याट्रिक

टोक्योमा जारी ३२औं संस्करणको ओलम्पिकमा जमैकन धाविका एलेन थोम्पसन हेराहले एथ्लेटिक्सको स्प्रिन्टका तीनै विधामा स्वर्णपदक जितेर ह्याट्रिक गर्न सफल भएकी छन् ।

थोम्पसनसहित ब्रियना विलियम्स, सेली–आन फ्रेजर–प्राइस र सेरिका ज्याक्सनको टिमले जमैकालाई ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण दिलाएपछि थोम्पसनले ओलम्पिकमा महिला स्प्रिन्टका तीनै विधामा सफलता हात पार्दै स्वर्णमा ह्याट्रिक पूरा गरेकी हुन् । चार गुणा १ सय मिटर रिलेमा शुक्रबारको सफलतासँगै जमैकाले महिलातर्फ स्प्रिन्टका तीनै स्वर्ण जित्दै ‘क्लिन स्विप’ गर्‍यो । यससँगै थोम्पसन–हेराह ओलम्पिकको स्प्रिन्टमा स्वर्णको पहिलो ह्याट्रिककर्ता भइन् ।

थोम्पसनले ओलम्पिक रंगशालामा गत शनिबार सय मिटरमा ३३ वर्ष पुरानो ओलम्पिक रेकर्ड भंग गर्दै १०.६१ सेकेन्डसहित स्वर्ण जितेकी थिइन् । उनले २ सय मिटर दौडको स्वर्ण पनि मंगलबार हात पारेकी थिइन् ।

पाँच वर्षअघि रियोमा भएको ३१ औं संस्करणमा पनि यी दुवै स्पर्धा जितेकी उनी ओलम्पिकमा यस्तो सफलता दोहो¥याउने पहिलो महिला हुन् । पुरुषतर्फ १ सय र २ सय मिटरको उपाधिमा जमैकाका उसेन बोल्टले यो उपलब्धि पूरा गरेका छन् ।

अमेरिकालाई लगातार चौंथो स्वर्ण

टोक्यो ओलम्पिक २०२० अन्तर्गत अमेरिकाले पुरुष बास्केटबलको स्वर्ण पदक जितेको छ ।

साइटामा एरिनामा शनिबार सम्पन्न खेलमा फ्रान्सलाई ८७–८२ अंकले पराजित गर्दै अमेरिकाले स्वर्णपदक जितेको हो । फाइनलको पहिलो क्वार्टरमा अमेरिकाले २२–१८ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा २२–२१, तेस्रोमा २७–२४ को अग्रता बनाएको अमेरिका अन्तिम क्वार्टरमा भने १९–१६ ले पछि परेको थियो ।

यससँगै अमेरिकाले पुरुष बास्केटबलमा लगातार चौंथोपटक ओलम्पिकमा स्वर्णपदक जितेको छ । अमेरिकाले यसअघि सन् २००८ को बेइजिङ ओलम्पिक, २०१२ को लन्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा स्वर्ण जितेको थियो ।

वाटरपोलोमा अमेरिकालाई स्वर्ण

अमेरिकाले जापानमा जारी टोक्यो ओलम्पिकको महिलातर्फको वाटर पोलोमा स्वर्णपदक जितेको छ ।

शनिबार तात्सुमी वाटर पोलो सेन्टरमा सम्पन्न महिलातर्फको फाइनलमा अमेरिकाले स्पेनलाई १४–५ गोल अन्तरले हराउँदै स्वर्णपदक हात पारेको हो । अमेरिकाको जितमा ९ जना खेलाडीले गोल गरेका थिए । खेलको शुरूवातदेखि नै अमेरिकाले स्पेनमाथि दबाब सिर्जना गरेको थियो ।

अमेरिकाले पहिलो क्वार्टरको खेलमा स्पेनमाथि ४–१ गोलअन्तरको अग्रता कायम गरेको थियो । चार वर्षअघि रियोमा भएको ओलम्पिकमा पाँचौं स्थानमा रहेको स्पेनमाथि अमेरिकाले अन्तिम क्वार्टरमा १२–४ गोलको अग्रता कायम गरेको थियो । त्यस्तै, रसियाको ओलम्पिक कमिटी टिमले हंगेरीलाई हराउँदै कांस्यपदक जित्यो ।

कोर्डाले जितिन् गल्फमा स्वर्ण

विश्व नम्बर एक अमेरिकी महिला गल्फर नेल्ली कोर्डाले जापानमा जारी टोकियो ओलम्पिकमा स्वर्णपदक जितेकी छन् ।

शनिबार कसुमिगासेकी कन्ट्री क्लबमा सम्पन्न महिला गल्फमा अमेरिकाकी कोर्डाले १७ अन्डर पार २ सय ६७ स्कोर गर्दै अमेरिकाको लागि स्वर्णपदक जितेकी हुन् । कार्डा महिला गल्फतर्फ ओलम्पिकको स्वर्णपदक जित्ने दोस्रो अमेरिकी खेलाडी बनेकी छिन् । यसअघि सन् १९९० मा मार्गरेट एबोटले अमेरिकाका लागि ओलम्पिकमा महिला गल्फको स्वर्णपदक जितेकी थिइन् ।

त्यस्तै, जापानकी मोने इनामीले रजतपदक जितिन् भने न्युजिल्यान्डकी लिडिया कोले महिला गल्फतर्फ कांस्यपदक हात पारिन् । सन् २०१६ मा भएको रियो ओलम्पिकमा रजत जितेकी लिडिया ओलम्पिकको गल्फमा दुई पदक हात पार्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।

भलिबलमा अर्जेन्टिनालाई कांस्य

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले टोक्यो ओलम्पिक २०२० अन्तर्गतको पुरुष भलिबलमा कांस्यपदक जितेको छ ।

शनिबार दिउँसो भएको उक्त खेलमा ब्राजिलमाथि ३–२ को सेटमा जित हासिल गर्दै अर्जेन्टिनाले कांस्यपदक हात पारेको हो । एरिएक एरिनामा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अर्जेन्टिनाले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुई सेट समान २०–२५ र २०–२५ ले गुमाएको अर्जेन्टिनाले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचांै सेटमा लम्ब्याएको थियो ।

निर्णायक सेटमा १५–१३ ले जित्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । अर्जेन्टिनाले स्पाइकबाट ५८, ब्लकबाट १७ र सर्भिसबाट २ स्कोर मात्रै गर्यो । विपक्षीको गल्तीबाट २८ अंक जोड्यो । कोेन्टेले २१ तथा लोसर अगस्टिनले १४ अंक जोड्यो । ब्राजिलले स्पाइकबाट ५६, ब्लकबाट १० तथा सर्भिसबाट ४ स्कोर गरे । विपक्षीको गल्तीबाट ३३ अंक पाएको थियो । वालेसले १७ तथा लुकासले १४ अंक जोडे पनि हार टार्न सकेन ।

यससँगै अर्जेन्टिनाले समूह चरणमा ब्राजिलसँग भोगेको हारको बदला पनि लिएको छ । समूह चरणमा अर्जेन्टिना ब्राजिलसँग ३–२ को सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्