ब्राजिललाई फुटबलमा स्वर्ण



टोक्यो, (एजेन्सी)।

ब्राजिलले टोक्यो ओलम्पिकअन्तर्गत पुरुष फुटबलको फाइनलमा स्पेनलाई २–१ ले हराएर स्वर्णपदक जितेको छ । योसँगै ब्राजिलले लगातार दोस्रोपटक ओलम्पिकमा स्वर्ण हात पार्न सफल भयो । ५ वर्षअघि भएको रियो ओलम्पिकमा पनि ब्राजिलले स्वर्ण जितेको थियो । निर्धारित समयमा १–१ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको उक्त खेलमा माल्कमले विजयी गोल गरेका हुन् ।

यसअघि पेनाल्टी मिस भएर निरास भएको ब्राजिलको लागि म्याथ्युज कुन्हाले केही मिनेटपछि नै गोल गरेर टिममा खुसीको लहर ल्याइदिएका थिए । तर, स्पेनका लागि मिकेल ओयारजाबालले गोल गरेपछि ब्राजिलको खुसी धेरै बेर टिक्न सकेन । यसपछि दुवैतर्फ गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो । कांस्यपदक मेक्सिकोले आयोजक राष्ट्र जापानलाई ३–१ ले हराएर हासिल गर्‍यो।

अमेरिकालाई ४ गुणा ४ सय रिलेमा स्वर्ण

टोक्यो ओलम्पिकअन्तर्गत पुरुष र महिलातर्फ ४ गुणा ४ सय रिलेमा अमेरिकाले स्वर्ण जितेको छ । अमेरिकी पुरुष टिमले २ मिनेट ५५.७० सेकेन्डको समय लगाउँदै स्वर्ण जितेको हो । रजत पदक नेदरल्यान्डस् र कांस्यपदक बोत्सवानाले हासिल गरे । नेदरल्यान्डस्को टिम अमेरिकाभन्दा ०१.४८ सेकेन्डले पछि परेको हो । अघिल्लो दिन अमेरिकाको महिला टिमले उक्र इभेन्टमा स्वर्ण जितेको थियो ।
बरफकी रानी पग्लिइन्

आईस क्वीन (बरफकी रानी) उपनामले चर्चित विश्व विजेता मारिया लासिटस्केनले महिलाको हाइजम्पमा स्वर्ण जितिन् । स्वर्ण जितेपछि भावुक हुँदै उनी ट्रयाकमै दुई हातले अनुहार छोपेर रोइन् । रसियन खेलाडी मारियाको यो ओलम्पिकमा पहिलो स्वर्णपदक समेत हो ।

प्रतिक्रिया दिनुहोस्