उपाधि रक्षा गर्ने दाउमा ब्राजिल



टोकियो, (एजेन्सी) ।

जारी ३२औं संस्करणको ओलम्पिक खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनल पुगेको डिफेन्डिंङ च्याम्पियन ब्राजिललाई उपाधि रक्षा गर्ने अवसर मिलेको छ । यसपटक स्वर्ण पदकका लागि दक्षिण अमेरिकी महादेशको पावर हाउस ब्राजिलले युरोपेली फुटबल महारथी स्पेनको चुनौती पाएको छ ।

मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले प्रतियोगिता आयोजक देश जापानमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै उपाधि नजिक पुगेको हो । अर्कोतिर ब्राजिल त्यसअघि नै मेक्सिकोलाई हराएर फाइनल पुग्ने पहिलो टिम बनेको थियो । अब फाइनल खेल शनिबार जापानको योकोहामा रंगशालामा हुनेछ ।

सन् २०१६ को स्वर्ण विजेता ब्राजिल सन् २०१२, २०१६ र २०२० गरी लगातार तेस्रोपटक ओलम्पिक पुरुष फुटबलको फाइनल प्रवेश गरेको हो । यसअघि सन् २०१६ मा ब्राजिलले आफ्नै भूमिमा भएको ३१औं संस्करणको रियो ओलम्पिकमा बलियो जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएर इतिहासमा पहिलोपटक ओलम्पिक फुटबलमा स्वर्णपदक जितेको थियो । त्यसअघि सन् २०१२ को लन्डनमा भएको ओलम्पिकमा पनि ब्राजिल फाइनलमा पुगेको थियो । तर, ब्राजिल फाइनलमा मेक्सिकोसँग पराजित हुँदै रजत पदकमा सीमित भएको थियो । यसपटक ब्राजिल स्वर्णपदक रक्षा गर्ने दाउमा देखिएको छ ।

सन् २०१६ मा नेयेमारको प्रेरणामा ओलम्पिकमा स्वर्ण जितेको ब्राजिललाई यसपटक अनुभवी डिफेन्डर ३८ वर्षीय ड्यानी आल्भेसको पनि साथ छ । करिअरको अन्त्यतिर रहेका उनले ब्राजिलियन यु–२३ टोलीको कप्तानी गरिरहेका छन् । ओलम्पिकमा २३ वर्षभन्दा कम उमेरका खेलाडीले मात्र प्रतिस्पर्धा गर्ने भए पनि तीन जनासम्म बढी उमेरका खेलाडी पनि राख्न मिल्ने नियम छ । जसअनुसार ब्राजिलले ३८ वर्षका आल्भेसलाई टोलीको कप्तान बनाएको हो ।

यता, स्पेनलाई पनि कम आंक्न भने मिल्दैन । पूर्व विश्व च्याम्पियन र पूर्व युरो च्याम्पियन स्पेनको २३ वर्षमुनिको युवा टोली २१ वर्षपछि ओलम्पिक फुटबलको फाइनलमा पुगेको हो । स्पेनले पछिल्लोपटक आफ्नै भूमि बार्सिलोनामा सन् १९९२ मा भएको ओलम्पिकमा स्वर्णपदक जितेको थियो । स्पेनले ओलम्पिकमा स्वर्ण जितेको त्यही एकपटक मात्रै हो ।

ब्राजिलले जापानमा ओलम्पिकमा स्वर्ण जितेर कोपाको फाइनलमा आफ्नै भूमिमा भोगेको पीडा भुलाउन चाहन्छ । कोपा खेल्ने सिनियर टोलीका थुप्रै खेलाडीहरू ओलम्पिक टिममा सम्मिलित छन् । ब्राजिललाई फाइनलसम्म पु¥याउन युवा स्टार रिचार्लिसनको पनि ठूलो योगदान रहेको छ । अर्कोतिर स्पेनको यु–२३ मा पनि केही समयअघि सम्पन्न युरो २०२० खेलेका थुप्रै खेलाडीहरुले जापानमा खेलिरहेका छन् । ती युवा खेलाडीको बलमा स्पेनले युरो कपमा इटालीसँग भोगेको हारको पीडा भुल्न पनि ओलम्पिकमा स्वर्ण पदक जित्ने दाउमा देखिन्छ । फाइनल भिडन्त नेपाली समयअनुसार शनिबार सवापाँच बजे हुनेछ ।

शनिबार ब्राजिल र स्पेनबीच हुने फाइनलको एकदिन अगाडि भने आयोजक जापानले मेक्सिकोसँग कास्यपदकका लागि साइतामा स्टेडियममा खेल्नेछ । कांस्यपदकका लागि हुने खेल नेपाली समय अनुसार शुक्रबार पौनेपाँचमा हुनेछ । यसअघि यी दुईको समूह चरणमा पनि भेट भएको थियो । जसमा जापानले मेक्सिकोलाई २–१ हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्