नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा भान गाल



लन्डन, (एजेन्सी) ।

नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा लुइस भान गाल नियुक्त भएको छ ।

नेदरल्यान्ड्स फुटबल फेडेरेसनले भान गाललाई बुधबार टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । सम्झौताअनुसार कतार विश्वकप २०२२ सम्म उनले डच टिम सम्हाल्ने भएका हुन् । डच टोलीका ६९ वर्षीय पूर्व मिडफिल्डर भान गाल तेस्रोपटक डच टोलीको प्रशिक्षक बनेका हुन् ।

उनी यसअघि २००१ देखि २००२ सम्म र २०१२ देखि २०१४ सम्म डच टोलीका प्रशिक्षक बनेका थिए । उनी फ्रान्क डि बोएरको स्थानमा डच टोलीको मुख्य प्रशिक्षक बनेका हुन् । बोएरले डच टोली गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएपछि टोली छाडेका थिए ।

अनुभवी प्रशिक्षक भान गालले १९९१ देखि प्रशिक्षण करियर शुरू गरेका थिए । उनले सन् १९९७ सम्म आयाक्सको टोली सम्हाल्दा च्याम्पियन्स लिग जिताएका थिए । त्यसपछि उनले बार्सिलोना, ए जेट, बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्