रोनाल्डोले जिते ‘पाओलो रोस्सी’ अवार्ड



लन्डन, (एजेन्सी) ।

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् ।

गत सिजनको इटालियन सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले सो अवार्ड हात पारेका हुन् । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा सो अवार्डको स्थापना गरेको हो । रोनाल्डोले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा पनि गोल्डेन बुट जित्न सफल भएका थिए । उनको टोली पोर्चुगल प्रि–क्वाटरफाइनलबाट बाहिरिए पनि रोनाल्डोले समूह चरणमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका थिए ।

रोस्सीको गत डिसेम्बरमा ६४ वर्षको उमेरमा निधन भएको थियो । सन् १९७७ देखि १९८६ सम्म इटालीको राष्ट्रिय टोलीमा रहेका पाओलो रोस्सी इटालीले सन् १९८२ को विश्वकप जित्दा टोलीका मुख्य सदस्य थिए । उनले इटालीका लागि ४८ खेलमा २० गोल गरेका थिए । उनले युभेन्ट्स, कोमो, भिसेन्जा, पेरुजिया, एसी मिलान र हेलास भेरोनाबाट व्यवसायिक लिग खेलेका थिए ।

इटालियन फुटबल फेडेरेसनले लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई रोस्सीको नामबाट अवार्ड दिने नीति पारित गरेको थियो । रोस्सीको तस्वीर अंकित उक्त अवार्डको बनावटसमेत परिवर्तन गरिएको संघले जनाएको छ । उक्त ट्रफीमा रोनाल्डोले गरेको गोल संख्या २९ वटा नै हिरा जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्