सिड्नीले आफ्नै रेकर्ड तोडिन्



USA’s Sydney Mclaughlin competes to win the women’s 400m hurdles final setting a new world record during the Tokyo 2020 Olympic Games at the Olympic Stadium in Tokyo on August 4, 2021. (Photo by Jewel SAMAD / AFP) (Photo by JEWEL SAMAD/AFP via Getty Images)

टोक्यो, (एजेन्सी) ।

अमेरिकाकी सिड्नी मेकलगलीनले टोक्यो ओलम्पिकको महिला ४ सय मिटर हर्डल्समा आफ्नै विश्व रेकर्ड तोडेकी छन् ।

२१ वर्षीया धाविकाले ५१.५६ सेकेन्डमा दौड पूरा गरेर नयाँ विश्व रेकर्ड राख्दै स्वर्णपदक जितिन् । मेकलगलीन ४ सय मिटर दौडमा ओलम्पिक स्वर्ण जित्ने सबैभन्दा युवा धाविकासमेत बनेकी छन् । उनले यसअघि अमेरिकाको ट्रायलमा ५१.९० सेकेन्डको विश्व रेकर्ड समय निर्धारण गरेकी थिइन् । तर, उनले यसलाई ०.४४ सेकेन्डले छायामा पार्दै महिला ४ सय मिटर दौडमा नयाँ विश्व रेकर्ड राखेकी छन् ।

गत संस्करण रियो ओलम्पिक २०१६ मा स्वर्ण जितेकी डालीलाह मुहम्मद रजत पदकमै सीमित भइन् । ३१ वर्षीया अमेरिकी धाविका कमुहम्मद ०.१२ सेकेन्डले पछि परेकी हुन् । अन्तिम ७० मिटर दौड बाँकी हुँदासम्म उनी स्वर्णकै दावेदारीमा थिइन् । तर, मेकलगलीनले छिटो दौडेर उनलाई पछि पारिदिएकी थिइन् । कांस्यपदक नेदरल्यान्डस्की फिम्के बोलले पाइन् । बोलले ५२.०३ सेकेन्ड समय लगाएकी थिइन् ।

हिराकीको रेकर्ड

ओलम्पिक आयोजक जापानले महिलाको पार्क स्केटबोर्डिङ फाइनलमा स्वर्ण र रजत जितेको छ । उक्त इभेन्टमा कोकोना हिराकीले १२ वर्षको उमेरमा पदक जितेर ओलम्पिक इतिहासमा सबैभन्दा कम उमेरमा पदक जित्ने रेकर्ड राखेकी छन् । उनले रजतपदक प्राप्त गरेकी हुन् । स्वर्णपदक साकुरा योसोजुमीले जितेकी छन् । यसअघि १९३६ ओलम्पिकमा फ्रान्सका नोएल भान्डेरनोटले कम उमेरमा पदक जितेका थिए ।

हिराकी जापानको तर्फबाट ओलम्पिक इतिहासमा सहभागी सबैभन्दा कान्छी खेलाडीसमेत बनेकी छन् । उनले स्विमर युकारी टाकेमोटोलाई पछि पारेकी हुन् । टाकेमोटोले १९६८ मेक्सिको ओलम्पिकमा सहभागिता जनाउँदा १३ वर्ष र १ सय ७४ दिनको उमेर थियो ।

प्रतिक्रिया दिनुहोस्