लिले फ्रेन्च सुपर कप च्याम्पियन



लन्डन, (एजेन्सी) ।

लिलेले फ्रेन्च सुपर कप फुटबल २०२१ को उपाधि जितेको छ ।

आइतबार राति भएको यस वर्षको उपाधि भिडन्तमा लिलेले सर्वाधिक १०औं पटकको च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० ले हराएर उपाधि जितेको हो । यससँगै लिलेले क्लब इतिहासमै पहिलोपटक सुपर कपको उपाधि जित्न पनि सफल भएको छ ।

इजरायलको टेल अभिभ सहरस्थित ब्लुमफिल्ड रंगशालामा भएको उपाधि भिडन्तमा पीएसजीले पहिलो रोजाईको टोली उतारे पनि हार पन्छाउन सकेन । लिलेका लागि खेलको ४५औं मिनेटमा शेकाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले यल्माजको असिस्टमा गोल गरेका थिए । सो गोल बेहोरेपछि पीएसजीले खेलभरि नै बराबरी गोल फर्काउन नसकेपछि खेल लिले १–० ले जित्यो ।

हरेकपटक नयाँ सिजनको पूर्वसन्ध्यामा सुपर कपको फाइनल हुने गर्छ । सुपर कपमा अघिल्लो सिजनको घरेलु लिगको च्याम्पियन टिम र फ्रेन्च कपको विजेता टिमले खेल्छन् । गत सिजन लिग वान लिलेले जितेको थियो भने फ्रेन्च कप पीएसजीले जितेको थियो । गत सिजन घरेलु लिगमा लिलेले पीएसजीलाई नै हराएर उपाधि जितेको थियो । तर, सुपर कपमा पनि पीएसजीको बाटोमा लिले नै तगारो बनिदियो ।

प्रतिक्रिया दिनुहोस्