अमेरिका सातौंपटक कन्काकाफ च्याम्पियन



लन्डन, (एजेन्सी) ।

मेक्सिकोलाई फाइनलमा पराजित गर्दै अमेरिकाले सातौंपटक कन्फेडेरेसन अफ नर्थ अमेरिका सेन्ट्रल अमेरिका एन्ड क्यारेबियन एसोसिएसन (कन्काकाफ) गोल्ड कप च्याम्पियन बनेको छ ।

आइतबार राति भएको उक्त खेलको फाइनल अमेरिकाले १–० ले जितेसँगै सातौंपटक गोल्ड कप उपाधि जितेको हो । टाइब्रेकरतर्फ अग्रसर उक्त खेलको अतिरिक्त समय सकिन तीन मिनेट बाँकी रहँदा माइल्स रबिन्सनले निर्णायक गोल गर्दै अमेरिकालाई उपाधि दिलाउन सफल भयो । सेट पिसमा केलिन अकोस्टाले दिएको बललाई रबिन्सनले गोलमा परिणत गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सदुपयोग गर्न नसक्दा गोलको लागि अन्तिम समयसम्म कुर्नुपरेको थियो । मेक्सिकोको हेक्टर हेरेरा गोल्डकपको सर्वाेत्कृष्ट खेलाडी चुनिए । क्यानाडाका ताजनान बुस्चान गोल्डकपको उत्कृष्ट युवा खेलाडी चुनिंदा कतारका अल्मोइज अली सर्वाधिक गोलकर्ता चुनिए । उनले गोल्डकप भर ४ गोल गरेका थिए । अमेरिकाका माट टर्नर उत्कृष्ट गोलरक्षक घोषित भए । अमेरिकाले नै फेयर प्ले अवार्ड पनि जित्न सफल भयो ।

सन् २०१७ यता पहिलोपटक उपाधि जितेको अमेरिकाले मेक्सिकोलाई नवौं उपाधिबाट बञ्चित गर्‍यो । क्यानाडाले सन् २००० मा जित्नुबाहेक अमेरिका र मेक्सिकोले नै उपाधि जित्दै आएका छन् । गत ३ जुलाईदेखि भएको उत्तरी अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रको सबैभन्दा ठूलो गोल्डकपमा १६ राष्ट्रको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा हुने यस गोल्डकपमा यस क्षेत्रबाहेक अन्य राष्ट्रलाई आमन्त्रण गर्ने गरिन्छ । अमेरिकाले सेमिफाइनलमा कतारलाई तथा मेक्सिकोले क्यानाडालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्