युभेन्टसलाई बर्लस्कोनी ट्रफी



लन्डन, (एजेन्सी) ।

नयाँ सिजनअघिको प्रि–सिजन मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्टसले मोन्जालाई हराउँदै २५औं लुइजी बर्लस्कोनी ट्रफी जितेको छ ।
शनिबार राति इटालीको मोन्जा सहरमा भएको खेलमा युभेन्टसले मोन्जालाई २–१ ले हराएर मैत्रीपूर्ण खेलको उपाधि जितेको हो । यो प्रतियोगिता शुरूआतमा एसी मिलानले आयोजना गर्दै आएको थियो । तर, यस वर्षबाट भने यो खेल मोन्जाले आयोजना गर्न थालेको हो । वर्षमा एकपटक हुने यो खेल मोन्जाको आफ्नो घरेलु मैदानमा आयोजना हुने गरेको छ । यसपटक मोन्जाले यस खेलका लागि युभेन्टसलाई आमन्त्रण गरेको थियो ।

यसको उपाधि हालसम्म सबैभन्दा धेरैपटक एसी मिलालने १३ पटक जितेको छ । मोन्जा इटालीको दोस्रो डिभिजनको लिग खेल्ने क्लब हो । प्रशिक्षकले यस खेलमा अधिकांश नयाँ खेलाडीलाई मौका दिएका उक्त खेलमा युभेन्टसले मोन्जालाई उसैको घरेलु मैदानमा हराएर उपाधि जित्यो । दोस्रोपटक युभेन्टस सम्हाल्न आएका प्रशिक्षक मासिमिलानो एलेग्रीको नेतृत्वमा युभेन्टसले मिश्रित टोली उतारेको थियो । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, फेडरिको किइजासहितका नियमित खेलाडी टोलीमा थिएनन् । युभेन्टसका लागि खेलको १३औं मिनेटमा युवा खेलाडी फिलिप्पो रानोचियाले गोल गरेर अग्रता दिलाएका थिए ।

त्यसपछि, खेलको ५३औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरेर घरेलु टोलीविरुद्ध २–० को अग्रता दिलाएका थिए । खेलको ८७औं मिनेटमा मोन्जाका लागि मार्को एलेक्सान्द्रोेले गोल गरेर गोलअन्तर छोट्याए पनि थप गोल नसकेपछि खेल युभेन्टसले २–१ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्