बार्सिलोनाको सहज जित



लन्डन, (एजेन्सी) ।

प्रि–सिजन म्याचअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले आफ्नो तेस्रो खेलमा सहज जित निकालेको छ ।

शनिबार राति जर्मनीको क्लब स्टुटगार्टविरुद्धको खेलमा बार्सिलोनाले ३–० गोलअन्तरको एकपक्षीय जित निकालेको हो । मर्केडेज बेन्ज एरिना रंगशालामा भएको खेलमा बार्सिलोनाको जितमा तीन जना खेलाडीले गोल गरे । बार्सिलोनाले खेलको २१औं मिनेटमा नयाँ खेलाडी मेम्फिस डिपेको गोलबाट अग्रता लिएको थियो । सो गोलमा मिडफिल्डर फ्रेन्की डे जोङले पास दिएका थिए । उनका लागि बार्सिलोनाको जर्सीमा यो दोस्रो गोल हो । उनले यसअघि पहिलो डेब्यु खेलमै पेनाल्टीमार्फत् गोल गरेका थिए ।

बार्सिलोनाका लागि दोस्रो गोल खेलको ३६औं मिनेटमा नयाँ खेलाडी युसुफ डेमिरले गरे । उनको गोलमा फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानले असिस्ट गरेका थिए । सो गोलपछि बार्सिलोनाले पहिलो हाफमा २–० को सहज अग्रता बनाएको थियो ।

त्यसपछि, बार्सिलोनाले तेस्रो गोल खेलको ७३औं मिनेटमा ग¥यो । यसपटक वैकल्पिक युवा खेलाडी रिकी पुचले निकै सुन्दर गोल गरेका थिए । उनको गोलमा पनि एन्टोनी ग्रिजम्यानले नै असिस्ट मिलाएका थिए । सो गोलपछि खेलमा थप गोल नभएपछि बार्सिलोनाले खेल ३–० ले जित्यो । स्टुटगार्ट जर्मनीको पहिलो डिभिजनको लिग बुन्डेसलिगा खेल्ने टिम हो । बार्सिलोनाले तेस्रो खेल जर्मन टिमसँग खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्