नापोलीद्वारा बायर्न पराजित



लन्डन, (एजेन्सी) ।

प्रि–सिजन म्याचअन्तर्गतको खेलमा सिरी ए क्लब नापोलीद्वारा जर्मन क्लब बार्यन म्युनिख पराजित भएको छ ।

शनिबार राति भएको क्लब मैत्रीपूर्ण खेलमा पाहुना टोली नापोलीले जर्मन च्याम्पियन बार्यनलाई उसैको घरेलु रंगशालामा ३–० गोलअन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा पहिलो गोल ६९औं मिनेटमा भएको थियो । घरेलु टोली बार्यनले एलियान्ज स्टेडियममा खेल पुरै आफ्नो पकडमा राखेको थियो । तर, दोस्रो हाफमा दुई मिनेटको बीचमा दुई गोल गरेपछि बायर्नले अप्रत्यासित हारको सामना गर्नुपर्‍यो ।

पाहुना टोली नापोलीलाई बार्यनको घरेलु मैदानमा जिताउनेक्रममा फरवार्ड भिक्टोर ओसिमहेन नायक बने । उनले बार्यनजस्तो बलियो टिमविरुद्ध दुई मिनेटका अन्तरमा एक्लैले दुई गोल गरेका थिए । उनले पहिलो गोल खेलको ६९औं मिनेटमा गरेका थिए । त्यसको एक मिनेटमै नै दोस्रो गोल गरेका थिए ।

नापोली त्यत्तिमै रोकिएन, खेलको ८५औं मिनेटमा नापोलीले तेस्रो गोल पनि गर्‍यो । यसपटक नापोलीका लागि जिनेदिन म्याचाकले गोल गरेर टिमको अग्रता तेब्बर पारे । त्यसपछि बाँकी समयमा बार्यनले कुनै गोल पनि फर्काउन सकेन र खेल नापोलीले ३–० ले जित्यो । उक्त हारसँगै प्रि–सिजनमा पहिलो जित निकाल्ने बार्यनको प्रयास पनि सफल हुन सकेन ।

बार्यनले नयाँ सिजनको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलका लागि इटालीको बलियो टोली नापोलीलाई पाहुना टोलीका रूपमा स्वागत गर्दा रोवर्ट लेवान्डोस्की, किङ्स्ले कोमान, लिरोए साने, लियोन गोरेट्जा, सेर्गे गेनाब्री, बेन्जामिन पाभार्डसहितका प्रमुख खेलाडीले शुरूआतबाटै खेले पनि कुनै पनि खेलाडीको जादु चलेन ।

बार्यनले नयाँ सिजन २०२१–२२ को तयारीका लागि हालसम्म खेलेका चार वटा मैत्रीपूर्ण खेलमा एक खेल पनि जित्न सकेको छैन । बायर्नका लागि प्रि–सिजन निकै खराब बनिरहेको छ । बायर्नले यसअघि खेलेको पहिलो खेलमा कोल्नसँग ३–२ ले पराजित भएको थियो । त्यसपछि दोस्रो खेल डच क्लब आयाक्ससँग २–२ को बराबरीमा रोकिँदा तेस्रो खेलमा घरेलु लिगमै क्लब मोन्चेङ्लाडवाचसँग २–० ले पराजित भएको थियो । त्यसपछि शनिबार भएको चौथो खेलमा पनि बार्यन नापोलीसँग ३–० गोलअन्तरमा पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्