भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल ब्याडमिन्टन संघले भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष आईतबार देखि शुरू गरेको छ । दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्देश्य अनुरूप संघसँग आवद्ध प्रत्येक जिल्लामा कम्तिमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको शुरूवात गरेको हो । संघसँग आवद्ध जिल्ला र एपिएफ क्लबले कोर्षमा सहभागिता जनाएको संघका केन्द्रीय सदस्य एवं कोर्षका प्रशिक्षक ब्याडमिन्टन एसियाका सर्टिफाइड अम्पायर दीपक थापाले जनाएका छन् ।

सहभागीहरूलाई दीपक थापाले प्रशिक्षण प्रदान गर्नेछन् भने ब्याडमिन्टन एसियाका एक्रिडिएटेड अम्पायरहरू सुमित शाक्य, समन इकबाल र कृतन खड्का सहयोगीको भूमिकामा रहने छन् । दुई चरणमा गरेर सञ्चालन गरिने कोर्षमा ब्याडमिन्टनसँग सम्बन्धित प्राविधक ज्ञान प्रदान गरिने थापाले जानकारी गराए । १० दिनसम्म सञ्चालन हुने कोर्षमा सहभागीहरूलाई दुई चरणमा गरेर प्रशिक्षण प्रदान गरिनेछ । पहिलो चरण श्रावण १७ देखि २१ र दोस्रो चरण २२ देखि २७ गतेसम्म साँझ ६ देखि ८ बजेसम्म सञ्चालन हुने प्रशिक्षक दीपक थापाले जानकारी गराए ।

नेपाल ब्याडमिन्टन संघले सञ्चालन गर्न लागेको यो पहिलो आधिकारिक कोर्ष हो । कोर्षमा उत्तीर्ण निर्णायकहरूको प्रयोगात्मक परीक्षा नेपाल ब्याडमिन्टन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा लिइने र त्यसमा उत्तीर्ण निर्णायकहरूलाई नेपाल ब्याडमिन्टन संघले आधिकारिक प्रमाण पत्र वितरण गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिनेसमेत संघले जनाएको छ ।

यसअघि पनि निर्णायकहरूको लागि विभिन्न जिल्लाले नेपालका राष्ट्रिय रेफ्री र अम्पायरहरूको माध्ययमबाट प्रशिक्षण प्रदान गर्दै आइरहेकोमा यसपटकदेखि नेपाल ब्याडमिन्टन संघले आधिकारिकरूपमै आफ्नो सम्पत्तिको रूपमा दक्ष निर्णायकहरू उत्पादन गर्ने उद्देश्यलाई कार्यान्वयनमा ल्याएको हो ।

प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, चितवन, दैलेख, दाङ, धादिङ, धनकुटा, डोटी, इलाम, जलेश्वर, झापा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, कास्की, काठमाडांै, काभ्रे, महोत्तरी, मोरङ, नवलपरासी, नवलपुर, नुवाकोट, ओखलढुङ्गा, पाल्पा, पाँचथर, पर्वत, पर्सा, रूपन्देही, सल्यान, संखुवासभा, सप्तरी, सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, सुनसरी, सुर्खेत, तनहँु, तेह्रथुम, उदयपुर र एपिएफ क्लब रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्