यूईएफएले कारबाही गर्न नपाउने



लन्डन, (एजेन्सी) ।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोपका शीर्ष क्लबहरूले स्थापना गरेको युरोपेली सुपर लिगविरुद्ध कुनै कारबाही गर्न नपाउने भएको छ ।

सुपर लिगमा अझै उपस्थित रहेका तीन क्लबले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन् । योसँगै यूईएफएले यसअघि कारवाहीका लागि तयारी गरेको सबै प्रक्रिया रद्द हुने भएको छ । यूईएफएले यसबारे अपिल गरे पनि अदालतले उक्त अपिल रद्द गर्दै कुनै कारबाही गर्न नपाउने बताएको हो । अब लक्जेम्बर्गस्थित युरोपेली अदालतले यूईएफएले युरोपेली फुटबलमा गरेको एकपक्षीय गतिविधिको छानबिन गर्नेछ ।

यसअघि यूईएफएले कारबाही गर्ने भनेपछि १२ मध्ये ९ क्लबले नाम फिर्ता लिएका थिए । तर रियल मेड्रिड, बार्सिलोना र युभेन्ट्सले भने आफ्नो उपस्थिति कायम राख्ने जनाउँदै मुद्दा दायर गरेका थिए । यससँगै सुपर लिग पुनः शुरू हुने सम्भावना बढेको छ । यसअघि इंग्लिस प्रिमियर लिगका ६ क्लबसँगै इन्टर मिलान, एसी मिलान र एट्लेटिको मेड्रिडले सुपर लिगबाट नाम फिर्ता लिएका थिए ।

सुपर लिगमा सहभागी हुने निर्णयमा समर्थकले व्यापक विरोध गरेपछि क्लबहरू पछि हटेका थिए । यी क्लबलाई यूईएफएले जरिवानासमेत गराएको थियो । सुपर लिगले अब कारबाही गरेका सबै क्लबको जरिवाना फिर्ता हुनुपर्ने जनाएको छ । यसबाहेक यूईएफएले सुपर लिगको कुनै पनि कार्यक्रममा रोक लगाउन नपाउने पनि अदालतले निर्णय गरेपछि अब प्रतियोगिता हुने सम्भावना पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्