अमेरिकी पौडीबाज ड्रेसलको विश्व कीर्तिमान



अमेरिकी पौडीबाज कालेब ड्रेसलले विश्व कीर्तिमानसहित पुरुष सय मिटर बटरफ्लाई इभेन्टमा स्वर्णपदक जितेका छन् ।

जारी टोक्यो ओलम्पिकमा यो ड्रेसलको व्यक्तिगत दोस्रो तथा तेस्रो स्वर्ण पदकसमेत हो । २४ वर्षीय उनले उक्त दूरी ४९.४५ सेकेन्डमा पूरा गरेका हुन् । तर, उनी दोस्रो स्थानका हंगेरियन क्रिस्टफ मिलाकभन्दा ०.२३ सेकेन्डले मात्रै अघि रहेका हुन् । स्विट्जरल्यान्डका नोए पोन्टीले कांस्यपदक जितेका हुन् ।

ड्रेसलले यसअघि फिना वल्र्ड च्याम्पियनसिपमा राखेको विश्व कीर्तिमानमा सुधार गरेका हुन् । उनले सो च्याम्पियनसिपमा ४९.५० सेकेन्डको विश्व कीर्तिमान निर्धारित गरेका थिए । उनले दुई वर्षपछि ०.०५ सेकेन्डले आफैँले निर्धारित गरेको विश्व कीर्तिमान तोड्न सफल भए ।

केटी लेडेकीले अमेरिकालाई थप स्वर्ण दिलाइन् । लेडेकीले महिला ८ सय मिटर फ्रिस्टाइल इभेन्टमा स्वर्ण जितेकी हुन् । उनको यो इभेन्टमा लगातार तेस्रो ओलम्पिक स्वर्ण हो भने व्यक्तिगत छैटौं ओलम्पिक स्वर्ण पदकसमेत हो । उनले सो दूरी ८ मिनेट १२.५७ मिनेटमा पूरा गर्दा अस्ट्रेलियन एरिआर्न टिटमसले रजत जितिन् । टिटमसले लेडेकीलाई २ सय मिटर र ४ सय मिटर फ्रिस्टाइलमा हराएकी थिइन् ।
तर, अमेरिकी पौडी टिमको लागि यो ओलम्पिक निराशाजनक बनेको छ । टोक्यो ओलम्पिकमा अमेरिकाले ८ स्वर्णपदक जितेको छ । जबकी अमेरिकाले गत रियो ओलम्पिक २०१६ मा १६ स्वर्ण जितेको थियो ।

बाइल्सले थप दुई इभेन्ट नखेल्ने

अमेरिकी चर्चित जिम्न्यास्टिक खेलाडी सिमोन बाइल्सले जापानमा जारी टोकियो ओलम्पिक २०२० मा थप दुई इभेन्ट्सको फाइनल नखेल्ने भएकी छन् ।

युएसए जिम्न्यास्टिकका अनुसार बाइल्सले आइतबार हुने भल्ट र अनइभन बारको इभेन्टको फाइनल नखेल्ने भएकी हुन् । यसअघि उनले मानसिक स्वास्थ्यका कारण दुई इभेन्ट्सको फाइनल खेलिनन् । उनले यसअघि बिहीबार भएको अलराउन्ड फाइनल पनि खेलिनन् । बाइल्सले त्योभन्दा अघि वोमेन्स टिमको फाइनलमा समेत प्रतिस्पर्धा छोडेकी थिइन् ।

बाइल्सले अझै सोमबार हुने फ्लोर फाइनल र मंगलबार हुने ब्लालेन्स बिम फाइनल खेल्न बाँकी छ । त्यो दुई इभेन्ट भने उनले खेल्ने सम्भावना छ । बाइल्सले नखेल्ने भएपछि अब उनको स्थानमा भल्ट इभेन्टमा अमेरिकी कायला स्कनिरले प्रतिस्पर्धा गर्ने भएकी छन् । क्वालिफाइङमा स्कनिर चौथो भएकी थिइन् । हरेक इभेन्टमा एउटा देशबाट दुई खेलाडी मात्र फाइनल पुग्ने भएकाले स्कनिरले शुरूमा फाइनलमा स्थान बनाउन सकेकी थिइन् । अमेरिकाबाट बाइल्स र जेड केरी फाइनलमा छनोट भएका थिए ।

स्कनिरले फाइनलका लागि धेरै प्रतीक्षा गर्न नसकिने र बाइल्सका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् । त्यस्तै अनइभन बारको फाइनलमा भने बाइल्सको स्थानमा फ्रान्सकी मेलाने डे जेसस डोसले प्रतिस्पर्धा गर्नेछिन् ।

जोकोभिचको गोल्डेन स्लाम सपना चकनाचुर

सर्वियाली खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम जित्ने सपना चकनाचुर भएको छ । शुक्रबार मेन्स सिंगल्स सेमिफाइनल खेलमा विश्व नम्बर एक टेनिस खेलाडी जर्मनीका एलेक्जान्डर जभेरेभसँग पराजित भएका थिए । योसँगै जोकोभिचको यस वर्ष गोल्डेन स्लाम उपलब्धि हासिल गर्ने योजना भताभुंग भयो ।

हालसम्म कोही पनि पुरुष टेनिस खेलाडीले गोल्डेन स्लामको उपलब्धि हासिल गर्न सकेका छैनन् । जबकी महिला खेलाडीमा यो उपलब्धि स्टेफी ग्राफले मात्रै हासिल गरेकी छन् । जर्मन खेलाडी ग्राफले (हाल अमेरिकी नागरिक भएकी) १९८८ वर्षमा गोल्डेन स्लाम उपलब्धि हासिल गरेकी थिइन् । उनले सो वर्ष सिओल ओलम्पिकमा स्वर्ण जित्नुका साथै वर्षमा हुने चारै ग्रान्डस्लाम प्रतियोगितामा उपाधि जितेकी थिइन् ।

टेनिसमा हरेक वर्ष हुने चारै ग्रान्डस्लाम प्रतियोगिता (अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन) जित्नुका साथै सोही वर्ष यदि ओलम्पिक आयोजना भएको छ भने त्यसमा पनि स्वर्ण पदक जितेमा गोल्डेन स्लाम उपलब्धि हुनेछ । यस वर्ष जोकोभिचको गोल्डेन स्लाम गर्ने ठूलो अवसर थियो । उनले यस वर्ष तीन वटा ग्रान्डस्लाम (अस्ट्रेलियन, फ्रेन्च र विम्बल्डन) उपाधि जितेका छन् । तर, ओलम्पिकमा प्रबल दाबेदारी भए पनि उनी यस ठूलो उपलब्धि हात पार्न असफल भइन् ।

गोल्डेन स्लाम गर्नबाट चुकेका जोकोभिचले जारी ओलम्पिकमा कांस्यपदकसमेत जित्न सकेनन् । कांस्यपदकका लागि भएको प्रतिस्पर्धामा उनी स्पेनका पाब्लो कारेनो बुस्टासँग हारेका थिए । उनी टोक्योबाट खालि हात घर फर्कन बाध्य भएका थिए । उनले कांस्यपदकका लागि प्रतिस्पर्धामा निरास भएर एउटा र्‍याकेट खाली दर्शकदीर्घामा फ्याले भने अर्को एउटा र्‍याकेट भाँचेका थिए ।
मिरको ह्याट्रिकमा स्पेन सेमिफाइनलमा

जारी टोक्यो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फ स्पेनले सेमिफाइनलको यात्रा तय गर्दा राफा मिरले ह्याट्रिक गरेका छन् । शनिबार भएको क्वार्टरफाइनल खेलमा स्पेनले आइभोरी कोस्टलाई ५–२ ले हराएको हो । स्पेन र आइभोरी कोस्टले निर्धारित समय सकिँदासम्म २–२ बराबरी खेलेका थिए । जबकी आइभोरी कोस्ट २–१ को अग्रता रहँदै अन्तिम चारको स्थानमा एक पाइला चालिसकेको थियो । तर, वैकल्पिक फरवार्ड मिरले अन्तिममा इन्जुरी समयमा गोल गर्दै स्पेनलाई हारबाट बचाएका थिए । यसपछि अतिरिक्त समयमा लम्बिएको खेलमा मिरले ह्याट्रिक गरेर स्पेनलाई जित दिलाउनुका साथै अन्तिम चारमा पुर्‍याए ।

खेलमा आइभोरी कोस्टले शानदार खेल पस्केको थियो । दुईपटक खेलमा अग्रता लिएको आइभोरी कोस्टले अन्ततः हार बेहोर्नुप¥यो । खेलको १० औं मिनेटमै डिफेन्डर एरिक बेलीले गोल गर्दै टिमलाई १–० को अग्रतामा राखे । ३० औं मिनेटमा डानी ओल्मोले गोल फर्काएर स्पेनलाई बराबरीमा ल्याएका थिए ।

यसपछि अन्तिममा इन्जुरी समयको पहिलो मिनेटमा आइभोरी कोस्टका कप्तान ग्रेडलले गोल गर्दै २–१ को अग्रतामा ल्याए । तर, केही मिनेट सम्हालिन नसक्दा स्पेनका खेलाडी मिरले फाइदा उठाए । उनले इन्जुरी समयको तेस्रो मिनेटमा गोल फर्काएका थिए । यसपछि ९६ औं मिनेटमा मिकेल ओयाराज्बलले पेनाल्टीमा गोल गर्दा स्पेन पहिलोपटक खेलमा अग्रतामा पुगेको थियो । मिरले दुई गोल थप्दै स्पेनको जित सुनिश्चित गरेका थिए ।

स्पेनले आयोजक राष्ट्र जापानी टिमसँग फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ । हिजै भएको अर्को खेलमा जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अर्को सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन ब्राजिलको सामना मेक्सिकोसँग हुनेछ ।

ब्राजिलले इजिप्टलाई हराउन पहिलो हाफमा भएको एक गोल नै पर्याप्त भएको थियो । ब्राजिलले ३७ औं मिनेटमा गरेको गोलको सहयोगमा अन्तिम समयसम्म अग्रता लिएको थियो । टिमका लागि निर्णायक गोल म्याथ्यु कुन्हाले गरेका थिए । अर्को क्वार्टरफाइनल खेलमा मेक्सिकोले दक्षिण कोरियालाई ५–२ ले पराजित गरेको थियो ।

अमेरिका सेमिफाइनलमा

जारी ओलम्पिकको महिला फुटबलतर्फ अमेरिकाले सेमिफाइनलको स्थान सुरक्षित गरेको छ । टोक्योमा भएको क्वार्टरफाइनलमा खेलमा अमेरिकाले नेदरल्यान्डस्लाई पेनाल्टी सुटआउटमा हराएको थियो । मेगान रापीनोइले पेनाल्टीमा विजयी गोल गरेकी थिइन् । उता डच टिमकी शीर्ष गोलकर्ता भिभिएन मिडेमा र एनिक नाउवेनका प्रहार भने बचाइएका थिए ।

प्रतियोगिताबाट दुर्भाग्यले बाहिरिएपछि युरोपियन च्याम्पियन नेदरल्यान्डस्का खेलाडीहरूको आँखा आँशुले रसाएका थिए । उता अमेरिकी खेलाडीहरूले रापोनोइलाई अँगालो मारेर खुशीयाली मनाएका थिए । मिडेमाको यो १ सयौं अन्तर्राष्ट्रिय खेल थियो । उनले निर्धारित समयमा दुईपटक गोल गरेकी थिइन् । उनले प्रतियोगितामा कुल १० गोल गरिन् ।

खेलमा अमेरिकाको तर्फबाट भएका दुई गोल अफसाइड घोषित भएका थिए । अमेरिकाले चारपटक ओलम्पिकमा स्वर्णपदक जितेको छ । अमेरिकाले पहिलोपटक एटलान्टा ओलम्पिकमा पहिलो स्वर्ण जितेको थियो । यसपछि टिमले २००४, २००८ र २०१२ ओलम्पिकमा स्वर्ण जित्न सफल भयो ।

गत रियो ओलम्पिक २०१६ मा भने टिम सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन । उक्त ओलम्पिकको क्वार्टरफाइनलमा स्विडेनसँग अमेरिका पेनाल्टी सुटआउटमा हारेको थियो । जारी ओलम्पिकमा पनि पहिलो खेलमा अमेरिका स्विडेनसँग ३–० ले हारेको थियो
अमेरिकाले सेमिफाइनलमा २०१२ र २०१६ को ओलम्पिकको कांस्यपदक जितेको क्यानडासँग खेल्नेछ । क्यानडाले ब्राजिललाई पेनाल्टी सुटआउटमै हराएको थियो । गत ओलम्पिकको फाइनलिस्ट स्विडेनले जापानलाई ३–१ ले हराएर सेमिफाइनलमा अस्टे«लियाविरुद्ध खेल्ने तय गरेको छ । अस्ट्रेलियाले अतिरिक्त समयमा ग्रेट ब्रिटेनलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्