ड्रेसल ओलम्पिकमा सर्वाधिक सफल बन्न अग्रसर



टोक्यो, (एजेन्सी)

अमेरिकाका कालेब ड्रेसल ओलम्पिकको व्यक्तिगत इभेन्टको इतिहासमा सबैभन्दा सफल स्विमरको सूचीमा अटाउन अग्रसर भएका छन् ।
ड्रेसलले बिहीबार जारी टोक्यो ओलम्पिकअन्तर्गत पुरुषको सय मिटर फ्रिस्टाइल इभेन्टमा स्वर्ण जितेका हुन् । उनले टोक्योमा व्यक्तिगत दोस्रो स्वर्ण जित्ने क्रममा ४७.०२ सेकेन्डमा उक्त दूरी पार गरे । यसअघि उनले अमेरिकाका लागि ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण जितेका थिए ।

ड्रेसललाई अस्ट्रेलियाका काइल चाल्मर्सले कडा चुनौती दिएका थिए । तर, ड्रेसलले ०.०६ सेकेन्डमा चाल्मर्सलाई पछि पारेका थिए । कांस्यपदक रूसका क्लिमेन्ट कोलेस्नीकोभले जिते । ड्रेसलले बाँकी चार इभेन्टमा पनि स्वर्ण जितेमा उनी ओलम्पिक इतिहासकै सर्वाधिक सफल स्विमर बन्न सक्नेछन् ।

हालसम्म ओलम्पिकको पुरुष स्विमिङतर्फ दुई स्विमरले ६ भन्दा बढी स्वर्णपदक जितेका छन् । अमेरिकाका माइकल फेल्प्सले बेइजिङ ओलम्पिक २००८ मा ८ स्वर्ण जितेका थिए । यस्तै, अमेरिकाकै मार्क स्पिट्जले म्युनिख ओलम्पिक १९७२ मा ७ स्वर्ण जितेका थिए ।

जारी ओलम्पिककै स्विमिङतर्फ पुरुष ८ सय मिटर फ्रिस्टाइलमा पनि अमेरिकी स्विमरले स्वर्णपदक जितेका छन् । रोबर्ट फिन्केले अप्रत्यासितरूपमा सो इभेन्टमा स्वर्ण जितेका थिए । अन्तिम ७५ मिटरसम्म उनी पदकको नजिक पनि थिएनन् । उनले अन्तिममा विश्व च्याम्पियन ग्रेगोरियो पाल्ट्रीनिइरीलाई ०.२४ सेकेन्डमा पछि पारेर स्वर्ण हात पारेका थिए ।

चिनियाँ टिमको विश्व कीर्तिमान

चीनको महिला स्विमिङ टिमले ४ गुणा २ सय मिटर रिलेमा स्वर्ण हात पार्‍यो । चिनियाँ टिमले सो इभेन्टमा ७ मिनेट ४०.३३ सेकेन्डको विश्व कीर्तिमान समयका साथ स्वर्ण जितेको हो । चिनियाँ टिमले अस्ट्रेलिया टिमको विश्व कीर्तिमानलाई १ मिनेट १७ सेकेन्डले ध्वस्त पारेको हो । उक्त इभेन्टमा अमेरिकी टिम दोस्रो तथा अस्ट्रेलियन टिम तेस्रो भए ।

सान मारिनो पदक जित्ने सानो देश

युरोपेली राष्ट्र सान मारिनो ओलम्पिकमा पदक जित्ने विश्वकै सबैभन्दा सानो देश बनेको छ ।

टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला ट्रयाप सुटिङमा सान मारिनोका एलेसान्द्रा पेरिलीले कांस्यपदक जितेपछि सान मारिनो ओलम्पिकमा पदक जित्ने विश्वकै सबैभन्दा सानो देश बनेको हो ।

झन्डै ३४ हजार जनसंख्या रहेको सान मारिनोका लागि पेरिलीले बिहीबार पहिलो पदक दिलाइन् । उनले २९ स्कोर जोड्दै पदक पक्का गरेकी हुन् । यसअघि सन् २०१२ को लन्डन ओलम्पिकमा चौथो स्थानमा रहँदै पदकबाट वञ्चित रहेकी उनी टोकियोमा भने पदक जित्न सफल भइन् ।

बिहीबारको प्रतिस्पर्धामा अष्ट्रेलियाकी लेतिसा स्कान्लान अन्तिम प्रहारमा चुकेपछि उनको पदक पक्का भएको थियो । यस स्पर्धामा स्लोभाकियाकी जुजना रेहाक स्तेफेचेकोभाले स्वर्ण तथा अमेरिकाकी कैल ब्राउननिङले रजत जितिन् ।

यसअघि बुधबार मात्र फ्लोरा डफीले ट्रायथलनमा स्वर्णपदक जित्दा बर्मुडा उक्त सफलता हासिल गर्ने सबैभन्दा सानो देश बनेको थियो । बर्मुडालाई स्वर्णपदक जित्ने सबैभन्दा सानो देश बनाउने क्रममा डफीले ट्रायथलनमा ५१ किलोमिटर पार गरेकी थिइन् । यो दूरी जम्मा ४० किलोमिटर लम्बाइ रहेको बर्मुडामा एक छेउबाट अर्को छेउसम्म पुग्दाभन्दा लामो दूरी हो ।

६३ हजार जनसंख्या भएको बर्मुडाको नाममा पदक जित्ने सबैभन्दा सानो देशको कीर्तिमान पनि थियो । अब सान मारिनोको नाममा उक्त कीर्तिमान रहनेछ ।

पुरुष फुटबल

जापानमा जारी ३२औं संस्करणको ओलम्पिकअन्तर्गत पुरुष फुटबलको अन्तिम आठको समीकरण पूरा भएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार राति भएका खेलहरूपछि क्वाटरफाइनलमा खेल्ने टोलीहरूको टुंगो लागेको हो । यसपटक आयोजक जापानसहित स्पेन, इजिप्ट, ब्राजिल, दक्षिण कोरिया, आइभोरीकोस्ट, न्युजिल्यान्ड र मेक्सिकोले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् । क्वाटरफाइनलका चारवटै खेलहरू ३१ जुलाईमा हुनेछन् । नेपाली समयअनुसार शनिबार जुलाई ३१ का दिन दिउँसो पौने दुई बजे हुने पहिलो क्वाटरफाइनल खेलमा स्पेनले आईभोरीकोस्टको सामना गर्नेछ ।

यसअघि समूहचरणमा समूह ‘सी’ को विजेताको रूपमा स्पेनले क्वार्टरफाइनलमा स्थान बनाएको हो । समूह ‘सी’ बाट स्पेन ५ अंक जोडेर समूह विजेता बन्दा इजिप्ट उपविजेताको रूपमा अघि बढेको हो । बुधबारै इजिप्टले अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो । यस समूहमा इजिप्टसँग समान ४ अंक भए पनि अर्जेन्टिना गोलअन्तरमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । समूहको अन्तिम खेलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेपछि अर्जेन्टिनाले समूह चरण पार गर्न सकेन ।

३१ जुलाईकै दिन हुने दोस्रो क्वार्टरफाइनलमा घरेलु टोली जापानले न्युजिल्यान्डको चुनौती पाउनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे हुनेछ । यसअघि समूह ‘ए’ बाट जापान शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो । त्यस्तै, मेक्सिको ६ अंक जोडेर समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो । यस समूहको अन्तिम खेलमा घरेलु टोली जापानले फ्रान्सलाई ४–० को लज्जास्पद हार चखाएको थियो । जसका कारण फ्रान्स समूह चरणबाटै बाहिरियो । यो समूहको अन्तिम खेलमा फ्रान्स जापानसँग पराजित तथा अर्काे खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई ३–० ले हराएपछि फ्रान्सको अघिल्लो चरणको यात्रामा पूर्णविराम लागेको हो ।

त्यस्तै, तेस्रो क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले इजिप्टलाई प्रतिद्वन्द्वी पाएको छ । उक्त खेल ३१ जुलाईको दिउँसो पौने चार बजे हुनेछ । ब्राजिल समूह ‘डी’ बाट समूह विजेता तथा आइभोरीकोस्ट उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । ब्राजिलले समूह चरणअन्तर्गतको अन्तिम खेलमा साउदी अरेबियाको यु–२३ टोलीलाई ३–१ ले पराजित गर्दै समूह ‘डी’ बाट अपराजित रहेर अन्तिम आठमा पुग्न सफल भएको हो ।

उक्त जितपछि ब्राजिलले समूह ‘डी’ बाट तीन खेलमा ७ अंक जोड्यो । साउदी अरेबिया भने अंकविहीन हुँदै समूह चरणबाट बाहिरियो । यही समूहको अर्काे खेलमा जर्मनी र आइभोरीकोस्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा आइभोरीकोस्ट समूह उपविजेताको रूपमा अन्तिम आठमा पुग्न सफल भएको हो । आइभोरीकोस्टले ५ तथा जर्मनीले ४ अंक जोडेको थियो । आइभोरी कोस्टसँगको बराबरी नतिजा नै जर्मनी समूह चरणबाट बाहिरिनुको कारण बनेको हो ।

सोही दिन हुने अन्तिम क्वार्टरफाइनलमा दक्षिण कोरियाले मेक्सिकोसँग खेल्नेछ । नेपाली समयअनुसार उक्त खेल दिउँसो पौने पाँच बजे हुनेछ । यसअघि समूह ‘बी’ बाट दक्षिण कोरिया विजेता तथा न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो । समूह चरणको अन्तिम खेलमा उइ जो ह्वाङको ह्याट्रिक मद्दतमा दक्षिण कोरियाले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ६–० ले पराजित गर्दै समूह विजेता बनेको हो ।

क्वार्टरफाइनल खेल (नेपाली समय अनुसार)
स्पेनविरुद्ध आइभोरी कोस्ट (३१ जुलाई, दिउँसो १ः४५ बजे)
जापानविरुद्ध न्युजिल्यान्ड (३१ जुलाई, दिउँसो २ः४५ बजे)
ब्राजिलविरुद्ध इजिप्ट (३१ जुलाई, दिउँसो ३ः४५ बजे)
दक्षिण कोरियाविरुद्ध मेक्सिको (३१ जुलाई, दिउँसो ४ः४५ बजे)

जिम्नास्टिक

अमेरिकी जिम्नास्टिक सुनिसा लीले टोक्यो ओलम्पिकअन्तर्गत महिला जिम्नास्टिक अलराउन्डमा स्वर्ण जितेकी छन् । १८ वर्षीया लीले डेब्यु गरेको ओलम्पिकमै स्वर्ण जितेकी हुन् । उक्त विधामा रेबेका एन्ड्राडेले रजत पदक जितिन् । रेबेका ब्राजिलको तर्फबाट ओलम्पिक जिम्नास्टिकमा पदक जित्ने पहिलो खेलाडी समेत बनिन् । रसियन ओलम्पिक कमिटीकी एन्जेलिना मेल्नीकोभाले कांस्यपदक जितिन् ।
अमेरिकीकै सर्वाधिक सफल जिम्नास्टिक सिमोन बाइल्सले मंगलबार उक्त इभेन्टबाट नाम फिर्ता लिएकी थिइन् । उनले दर्शक दीर्घामा बसेर सो प्रतिस्पर्धा हेरिन् । जब आफ्नै साथी खेलाडीले स्वर्ण जितेपछि उनले खुशीयाली मनाएकी थिइन् । २४ वर्षीया ओलम्पियनले आइतबार हुने व्यक्तिगत इभेन्टमा प्रतिस्पर्धा गर्ने नगर्ने कुनै निर्णय अझै लिएकी छैनन् ।

टेनिस

पुरुष टेनिसका विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच गोल्डेन स्लामको लागि अघि बढेका छन् । सर्बियाका जोकोभिचले घरेलु खेलाडी की निशीकोरीलाई हराएर सेमिफाइनलमा स्थान बनाए । उनले सो खेल सहजै ६–२, ६–० को सोझो सेटमा जितेका हुन् । यदि ओलम्पिकमा स्वर्ण जितेमा उनले गोल्डेन स्लाम उपाधि हासिल गर्नेछन् ।

जोकोभिचले यस वर्ष हरेक वर्षमा हुने चार ग्रान्डस्लाममध्ये तीन प्रतियोगितामा उपाधि जितिसकेका छन् । उनले अस्टे«लियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनमा उपाधि जितेका थिए । यदि, ओलम्पिकमा स्वर्ण जितेर यसपछि न्युयोर्कमा हुने यूएस ओपनमा उपाधि जितेमा उनी एकै वर्षमा चार ग्रान्डस्लाम र ओलम्पिक स्वर्ण जित्ने पहिलो पुरुष टेनिस खेलाडी बन्नेछन् । महिला खेलाडीमा भने यस्तो अदभूत उपलब्धि जर्मनीकी स्टेफी ग्राफले पाइसकेकी छन् । ग्राफले १९८८ मा वर्षमा हुने चारै ग्रान्डस्लाम जित्नुका साथै सिओल ओलम्पिकमा स्वर्णपदक जितेकी थिइन् ।

महिलातर्फ भने स्विट्जरल्यान्डकी बेलिन्डा बेन्चीच र चेक रिपब्लिककी मार्केटा भोन्ड्रउसोभाले स्वर्णपदकको लागि शनिबार खेल्नेछन् । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा बेन्चीचले काजाकस्तानकी एलेना रिबाकिनालाई ७–६, ४–६, ६–३ ले हराएकी हुन् । टोक्योको चर्को गर्मीमा यी दुई खेलाडीले फाइनलमा स्थान बनाउन करिब ३ घण्टा कोर्टमा संघर्ष गरे । भोन्ड्रउसोभाले भने विश्व नम्बर ६ एलिना स्विटोलीनालाई ६–३, ६–१ ले पन्छाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्