बायर्न म्युनिखको हार



बर्लिन, (एजेन्सी) ।

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले घरेलु मैदानमै बुन्डेसलिगा प्रतिद्वन्द्वी बोरुसिया मोन्चेनग्लाडवाकसँग हार बेहोरेको छ ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको उक्त खेलमा बायर्न मोन्चेनग्लाडवाकसँग २–० गोलअन्तरले पराजित भएको हो । प्रि सिजनमा बायर्नको यो दोस्रो हार हो । यसअघि बायर्नले एफसी कोल्नसँग ३–२ को हार बेहोर्दा आयाक्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।

मोन्चेनग्लाडवाकको जितमा हान्नेस वल्फ र मिचेल वेन्टजेलले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको ५८औं मिनेटमा हान्नेस वल्फको गोलबाट बायर्न पछि परेको थियो । ७६औं मिनेटमा मिचेल वेन्टजेलले गोल गर्दै बायर्नलाई हार चखाए । अब बायर्नले ३१ जुलाईमा इटालियन क्लब नेपोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि डिएफवी पोकलको पहिलो राउन्डमा ब्रेमेर एसभीसँग खेल्नेछ । मोन्चेनग्लाडवाकसँगै १४ अगस्टमा खेल्दै बायर्नले बुन्डेसलिगाको शुरूवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्