गौरिकाको लङ कोर्समा राष्ट्रिय कीर्तिमान



फिरोज राजोपाध्याय, काठमाडौं ।

नेपाली पौडीबाज गौरिका सिंहले जारी टोक्यो ओलम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन् ।

बुधबार राष्ट्रिय कीर्तिमान राखेकी गौैरिका दुर्भाग्यवश प्रतियोगिताबाट भने बाहिरिइन् । उनले महिला स्विमिङतर्फ सय मिटर फ्रिस्टाइल इभेन्टको हिट चरणमा १ मिनेट ०.११ सेकेन्डको समय निर्धारित गरेकी हुन् । यो उनको लङ कोर्स (५० मिटर) मा नयाँ राष्ट्रिय कीर्तिमानसमेत सेट भएको छ । उनले यसअघि २०१९ मा दक्षिण कोरियामा भएको फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ०.६२ सेकेन्डको उत्कृष्ट समय सेट गरेकी थिइन् । उनले टोक्यो ओलम्पिकमा यो कीर्तिमानलाई ०.५१ सेकेन्डले सुधार गरिन् ।

यद्यपि, गौरिकाले पछिल्लो समयमा केही सुधार गरे पनि त्यो हिट चरण पार गर्न पर्याप्त भएन । उनी एक मिनेटभन्दा कम समय निर्धारित गर्न नसक्दा चार खेलाडी सम्मिलित उक्त हिटमा तेस्रो स्थानमा रहिन् । उनी पछि ग्वामकी पौडीबाज रहेकी हुन् । तर, गौरिकाको सर्ट कोर्स (२५ मिटर) मा भने ५८.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ । उनले गत मंसिर २०७६ सालमा नेपालमै सम्पन्न १३ औं सागमा यही इभेन्टमा स्वर्णपदक जित्दा उक्त समय निर्धारित गरेकी थिइन् । तर, यो २५ मिटरको स्विमिङ पुलमा राष्ट्रिय कीर्तिमान सेट भएको थियो ।

गौरिकाले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेपछि मिडियालाई बताइन्–‘कीर्तिमान तोड्न पाएकोमा खुशी छु । समय यति नै भनेर राखेकी थिइनँ । मैले जे राम्रो गर्नसक्थेँ त्यही गरेँ । कोभिड भएर अभ्यास पनि राम्ररी गर्न पाएकी थिइनँ । कोभिड सकेर लङ कोर्समा अभ्यास पनि भएको थिएन । त्यहाँ (बेलायत) कोच पनि थिएनन् । मेरो सर्ट कोर्समा राम्रो छ, लङ कोर्समा अभ्यास पुगेको छैन । अब आगामी लक्ष्य के हुन्छ ? थाहा छैन । म युनिभर्सटी जाँदैछु, पछि के गर्ने थाहा छैन ।’

टोक्योको स्विमिङ पुलमा गौरिकाले शुरूवात राम्रो गरेकी थिइन् । उनी पहिलो ५० मिटरमा अघि रहेकी थिइन् । पछिको ५० मिटरमा उनको प्रदर्शन खस्केको थियो । नाइजेरियाकी अबिओला ओगुनबान्वोले ५९.७४ सेकेन्डमा पूरा गरी उक्त हिटमा पहिलो भइन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिचले १ मिनेट ००.०१ सेकेन्डसहित दोस्रो स्थानमा रहिन् । यस इभेन्टमा कुल ५१ खेलाडीको सहभागिता रहेकोमा उत्कृष्ट समय निकाल्ने १६ पौडीबाज सेमिफाइनलमा पुगेका छन् ।

चारै खेलाडी बाहिरिए

नेपालबाट जारी टोक्यो ओलम्पिकमा पाँच खेलाडीले चार खेलमा सहभागिता जनाएका छन् । गौरिकाबाट धेरै अपेक्षा गरिएकोमा उनी पनि हिट चरणबाटै बाहिरिइन् । यसअघि सुटिङकी कल्पना परियार र स्विमिङका एलेक्जान्डर शाह (एलेक्स) पनि राष्ट्रिय कीर्तिमान तय गर्दै बाहिरिए । यस्तै, जुडोकी सोनिया भट्ट पनि बाहिरिइन् । अब सरस्वती चौधरीको चुनौती बाँकी छ, उनले सय मिटर स्प्रिन्ट दौडमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल ३० जुलाईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्