अलमुताइरीको राजीनामाले ल्याएको तरंग



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने विषयले अहिले नेपाली फुटबलमा तरंग ल्याइदिएको छ । कुवेती अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष सीधै राजीनामा दिएका पनि होइनन् । उनले सामाजिक सञ्जालमा राजीनामा दिन गइरहेको छु भनेर पोस्ट गरेका थिए । आइतबार भएको पोस्टमा कारण पनि खुलाएका छन्, जुन कारणले एन्फालाई हल्लाइदिएको छ ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले घरिघरि नौटंकी गरेको भन्दै राजीनामा दिन लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । यो विषय गम्भीर भएकाले अहिले एन्फाको लागि टाउको दुखाइ भएको छ । यसैले शुक्रबार आपतकालीन बैठक बस्ने भनेर एन्फाले घोषणासमेत गर्नुपरेको छ ।

अलमुताइरीले नेपाली फुटबलको विकासको लागि काम गरिरहेको भनेर पनि बताए । उनले न आफ्नो देशका लागि न पदाधिकारीहरूका लागि काम गरेको भन्दै नेपालमा राजनीति चलेको बताए । उनले नेपाली फुटबल आगामी तीन वर्षमा राम्रो हुने पनि दाबी गरेका छन् । तर, उनलाई राम्ररी काम गर्न दिइएको छैन भनेर सीधै एन्फाका एक पदाधिकारीमाथि आरोप लगाए ।

यता एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले पनि पछिल्लो घटना क्रमको राम्ररी छानबिन हुनुपर्ने माग राखेका छन् । यसै कारण एन्फाले केन्द्रीय समितिको आपतकालीन बैठक बोलाएको हो । एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएअनुसार सो बैठकमा अलमुताइरी र नेम्वाङबीचको विवाद तथा आगामी साफ च्याम्पियनसिप आयोजनाको प्रस्तावबारे छलफल गरिनेछ । राईले उक्त बैठक शुक्रबार ४ बजे हुने पनि जानकारी दिएका छन् ।

त्यसो त अलमुताइरी आइतबार नै सो पोस्टपछि एन्फा पनि पुगेका थिए । त्यहाँ उनले एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पासँग भेटघाट गरेर राजीनामा बारे कुरा गरेका थिए । शेर्पाले उनलाई राजीनामा नदिन र केही दिन पर्खन भनेपछि उनले लिखित राजीनामा नबुझाएको एन्फा प्रवक्ता राईले बताएका थिए ।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले अलमुताइरीले आफूमाथि षडयन्त्र गरेको पनि आरोप लगाएका छन् । जब राजीनामाको कारण आफ्नो नाम मुछिएपछि आश्चर्य भएको उनले बताए । उनले अलमुताइरीलाई नभेटेको तर, यो सब उनीमाथि षड्यन्त्र भएको पनि उनले दाबी गरेका थिए । यसबारे छानबिन हुनुपर्ने र दोषी देखिएमा पदबाट राजीनामा दिन पनि तयार भएको उनले बताउँदै आएका छन् ।

अलमुताइरी गत वर्ष चैतमा कतार फुटबल संघको सहयोगमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक पदमा अनुबन्ध भएका थिए । उनले पद सम्हालेदेखि नेपाली राष्ट्रिय फुटबल टिममा उथलपुथल गरिदिएका थिए । उनले धेरैजसो नयाँ युवा खेलाडीलाई मौका दिएका थिए । उनको नेतृत्वमा नेपाली टिमले चारवटा अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा टिमले तीनमा पराजय र एकमा जित हासिल गरेको छ । उक्त जित नेपालले विश्वकप छनोट चरणअन्तर्गत खेल चाइनिज ताइपेइविरुद्ध थियो । यद्यपि, उनी आउनुअघि पनि नेपाली टिमले चाइनिज ताइपेइलाई हराएकै थियो ।

प्रतिक्रिया दिनुहोस्