चेल्सी र सिटी विजयी



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर क्लब चेल्सी र म्यानचेस्टर सिटीले प्रि–सिजनअन्तर्गतको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेका छन् ।

मंगलबार राति भएको खेलमा चेल्सीले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली बर्नमाउथमाथि २–१ को पुनरागमन जित दर्ता गरेको हो । चेल्सीको जितमा अर्मान्डो ब्रोजा र इके उग्बोले एक–एक गोल गरे । बर्नमाउथका तर्फबाट इमिलियानो मार्कोन्डेसले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा घरेलु टोली बर्नमाउथले ६६औं मिनेटमा मार्कोन्डेसको गोलबाट शुरूवाती अग्रता लिएको थियो । तर, बर्नमाउथको त्यो अग्रता लामो समय टिकेन । खेलको ७२औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

खेलको ७६औं मिनेटमा उग्बोले गोल गर्दै चेल्सीलाई २–१ को पुनरागमन जित दिलाए । चेल्सीले अब आर्सनल र टोटेनह्यामसँग पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसपछि चेल्सीले १२ अगस्टमा युइएफए सुपर कपको उपाधि लागि स्पेनिस क्लब भिया रियलसँग खेल्दैछ ।

त्यस्तै, गत सिजनको प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा दोस्रो डिभिजन क्लब प्रेस्टनमाथि २–० को सहज जित दर्ता गर्‍यो । सिटीको जितमा रियाद महारेज र सामुअल इडोजेले गोल गरे । खेलको २५औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६४औं मिनेटमा इडोजेले गोल गर्दै सिटीलाई २–० को सहज जित दिलाए ।

सिटीले ७ अगस्टमा कम्युनिटी सिल्डको उपाधिका लागि प्रिमियर लिग प्रतिद्वन्द्वी लेस्टर सिटीसँग खेल्दैछ । त्यसअघि सिटीले १ अगस्टमा फ्रान्सेली क्लब ट्रोएससँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेसिन क्लब सेभियाले पनि प्रि–सिजनको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । पोर्चुगलमा मंगलबार राति भएको खेलमा पीएसजीले खेलमा दुईपटक पछि परेर पनि पुनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो । सेभियाका लागि इभान राकिटिक र ओस्कार रोड्रिग्वेजले गोल गर्दा पीएसजीका मोउरो इकार्डी र केनी नगेराले बराबरी गोल फर्काए ।

खेलको ४०औं मिनेटमा इभान राकिटिचको पेनाल्टी गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ४८औं मिनेटमा इकार्डीले बराबरी गोल फर्काए । ६२औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै सेभियालाई पुनः २–१ को अग्रता दिलाए । खेल सकिन दुई मिनेट बाँकी रहँदा नगेराले बराबरी गोल फर्काउँदै पीएसजीलाई हारबाट जोगाए ।

प्रतिक्रिया दिनुहोस्