टोक्योको गर्मीमा श्वास फेर्न कठिन



टोक्यो, (एजेन्सी)

रसियन ओलम्पिक कमिटीका खेलाडी डेनिल मेदभेदेभले टोक्योको चर्को तापक्रममा श्वास फेर्न गाह्रो भएको बताएका छन् । उनले यदि आफू मरेमा यसको जिम्मेबार कसले लिने भनेर अम्पायरलाई प्रश्नसमेत गरे । रसियन मेदभेदेभले अम्पाएरलाई बताए–‘मैले खेल समाप्त गरेँ, तर म मर्न सक्छु ।’

२५ वर्षीय टेनिस खेलाडीले इटालीका फाबियो फोगनीनीलाई ६–२, ३–६, ६–३ ले हराएका हुन् । यो जितसँगै उनी क्वार्टरफाइनल पुगेका छन् । मेदभेदेभले खेलका दौडानमा उपचार पनि लिएका थिए । उनलाई चेयर अम्पायर कार्लोस रामोसले ठिक छ भनेर सोध्दा उनले जवाफ दिए–‘म ठिक छु, यदि म मरेँ भने के आईटीएफ (अन्तर्राष्ट्रिय टेनिस महासंघ) जिम्मेवार हुन्छ त?’

मेदभेदेभले पहिलो सेटदेखि नै सहज महसुस गर्न सकेका थिएनन् । उनले बताए–‘मलाई पहिलो सेटदेखि नै श्वास फेर्न गाह्रो भयो । मेरो श्वासनली नै बन्द भएको जस्तो लाग्यो । त्यसैले, मैले फिजियोलाई बोलाएँ । दोस्रो सेटमा मेरो आँखामा अँध्यारो देखियो । मलाई केही थाहा भएन । म कोर्टमै ढल्न तयार थिएँ ।

मेदभेदेभ र विश्व नम्बर एक नोभाक जोकोभिचले गत साता आयोजकहरूलाई खेलको समय सार्न सल्लाह दिएका थिए । उनीहरूले समय सारेमा टोक्योको गर्मीबाट बच्न सक्ने पनि बताए । आईटीएफले अत्यधिक गर्मीमा खेल दौडानमा १० मिनेट विश्राम दिने बताएको थियो ।

टिटमसलाई दोस्रो स्वर्ण

अस्ट्रेलियाकी एरिआर्न टिटमसले जारी टोक्यो ओलम्पिकमा दोस्रो स्वर्ण जितेकी छन् । टिटमसले टोक्योको स्विमिङ पुलमा महिला २ सय मिटर फ्रिस्टाइल इभेन्टमा स्वर्ण हासिल गरेकी हुन् । उनले यसअघि ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

टिटमसले २ सय मिटर दूरी १ मिनेट ५३.५० सेकेन्ड समयमा पूरा गरिन् । जबकी उक्त दूरीकी डिफेन्डिङ च्याम्पियन केटी लेडेकी पाँचौं स्थानमा रहिन् । तर, अमेरिकी पौडीबाज लेडेकीले एक घण्टापछि भएको महिला १५ सय मिटर फ्रिस्टाइल इभेन्टमा भने स्वर्ण जितिन् । यो उनको छैटौं ओलम्पिक स्वर्णसमेत हो ।

ड्रिम टिमको पुनरागमन

पहिलो खेलमा हार बेहोरेको अमेरिकी पुरुष बास्केटबल टिमले दोस्रो खेलमा शानदार जित हासिल गर्दै टोक्यो ओलम्पिकमा पुनरागमन गरेको छ । अमेरिकाले इरानमाथि १२०–६६ अंकको फराकिलो जित हात पार्‍यो । पहिलो खेलमा फ्रान्सले अमेरिकाको लगातार २५ खेलको अपराजेय यात्रा समाप्त गरेको थियो ।

अमेरिकाको जितमा डामिएन लिलार्डले २१ अंक, डेभिन बुकरले १६ अंक जोडेका थिए । टिमले तीन अंक १९ पटक लिएको थियो । अमेरिकी टिमले अघिल्ला तीन ओलम्पिकमा पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको छ । समूह ए मा रहेको अमेरिकाले शनिबार चेक रिपब्लिकविरुद्ध खेल्नेछ ।

यस्तै समूह ‘बी’ को खेलमा जर्मनी लगातार दोस्रो हार बेहोर्नबाट बचेको छ । जर्मन टिमले नाइजेरियालाई ९९–९२ अंकले हराउन सफल भएको थियो । टिमलाई जित दिलाउन जोहानेस भोइग्टम्यानले सर्वाधिक १९ अंक योगदान दिएका थिए । जर्मनी यसअघि पहिलो खेलमा इटालीसँग हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्