ओसाका अन्तिम १६ बाट बाहिरिन्



जापानी टेनिस स्टार नाओमी ओसाका टोकियो ओलम्पिकअन्तर्गत महिला एकलको अन्तिम १६ बाट बाहिरिएकी छन् ।विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन् । ओलम्पिकको अन्तिम १६ मा ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो सेटमा पराजित भइन् । मारकेटाले ओसाकालाई ६–१ र ६–४ को सेटमा पराजित गरिन् ।योसँगै घरेलु भूमिमा जापानलाई लन टेनिसमा पहिलोपटक ओलम्पिक स्वर्ण दिलाउने ओसाकाको सपना अधुरो नै भएको छ ।

अस्ट्रेलियाले जित्यो सिरिज
अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध खेलिएको तीन एकदिवसीय म्याच शृङ्खला (ओडीआई सिरिज) २–१ ले जितेको छ ।
मंगलबार बिहान भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उक्त सिरिज जितेको हो । जितको लागि १ सय ५३ रनको विजय लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३०.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । अस्ट्रेलिया मध्यक्रमका ब्याट्सम्यान म्याथ्यु वेड ५२ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे । एस्टन अगर ३३ बलमा ३ चौकासहित १९ रनमा अविजित रहे ।अस्ट्रेलिया ओपनर जोस फिलिपे १० र मोइजेस हेनरिक्स १ रनमा आउट भएका थिए । कप्तान एलेक्स केरी ५० बलमा ३ चौकासहित ३५ रन जोड्दै जुनियरको बलमा एलबीडब्लू आउट भए । आक्रामक ब्याटिङ गर्नेक्रममा मिचेल मार्श २१ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा क्याच आउट भएका थिए । वेस्टइन्डिजका सेल्डन कटरेल, अकिल हुसैन, हेडेन वाल्स जुनियर र अल्जारी जोसेफले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ४५.१ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो । ओपनर इविन लेविस ६६ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे । लेविसले एकतर्फबाट रन जोड्दा अर्कोतर्फबाट भने लगातार विकेट गुम्न पुगेको थियो ।एस्टन अगरले साई होपलाई १४ रनमा मिचेल मार्सबाट क्याच आउट गराएका थिए । निकोलस पुरन ३ रनमा एस्टन टर्नरको बलमा बोल्ड आउट भए । अर्का युवा ब्याट्सम्यान सिम्रन हेटमायरलाई जोस हेजलवुडले ६ रनमा बोल्ड आउट गरे । ड्यारेन ब्राभो १८, कप्तान काइरन पोलार्ड ११, जेसन होल्डर ५, अल्जारी जोसेफ १५, जुनियर ७ र अकिल हुसैन ३ रनमा आउट भए ।

अस्ट्रेलिया मिचेल स्टार्कले ९.१ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । जोस हेजलवुडले ८ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिएका थिए । एस्टन अगर र एडम जाम्पाको नाममा दुई–दुई विकेट रह्यो । एक विकेट एस्टन टर्नरले लिएका थिए । स्टार्क प्लेयर अफ द सिरिज चुनिए । एस्टन अगर प्लेयर अफ द म्याच चुनिए । स्टार्कले पहिलो खेलमा पाँच, दोस्रो र तेस्रो खेलमा ३–३ विकेट लिएका थिए । समग्रमा ३ खेलमा ११ विकेट लिए । अस्ट्रेलिया पहिलो खेलमा १ सय ३३ रनले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।

टाइसनको स्मरण गरायो

जारी टोक्यो ओलम्पिकमा बक्सिङ इभेन्टमा विगतका विश्व हेभिवेट च्याम्पियन माइक टाइसनको स्मरण गराएको छ । मोरोक्कोका युनेस बालाले न्युजिल्यान्डका डेभिड नीकाको कान टोकेका थिए । तर, सो खेल नीकाले ५–० ले जितेका थिए । यो घटनाले २४ वर्षअघि टाइसनले इभान्डर होलिफिल्डको कान टोकेको अलोकप्रिय घटनालाई ताजा भएको हो । सन् १९९७ मा लास भेगासमा भएको हेभिवेट विश्व उपाधिको फाइटमा टाइसनले होलिफिल्डको कान दुईपटक टोकेका थिए । यसपछि टाइसन अयोग्य घोषित भए र १५ महिनाको लागि उनको बक्सिङ लाइसेन्स रद्द गरिएको थियो ।

बर्मुडालाई पनि स्वर्ण

६३ हजार जनसंख्या भएको सानो देशमा गनिने बर्मुडाले जारी टोक्यो ओलम्पिकमा स्वर्णपदक जितेको छ । योसँगै ओलम्पिकमा स्वर्ण जित्ने पहिलो सानो देशको रूपमा बर्मुडाले इतिहास रच्यो । बर्मुडाको लागि फ्लोरा डफीले ट्रायथलनमा स्वर्ण जितेकी हुन् । ३३ वर्षीया धाविकाको यो चौथो ओलम्पिक सहभागीता हो । उक्त महिला ट्रायथलनमा ग्रेट ब्रिटेनकी जर्जिया टेलर ब्राउनले रजत तथा अमेरिकाकी केटी जाफेरेसले कांश्यपदक जिते ।

ओलम्पिकमा बिहेको प्रपोजल
अर्जेन्टिनाकी तलबारबाज मारिया बेलेनसँग टोक्यो ओलम्पिक दौडान बिहेको प्रपोजल राखिएको छ । मारिया पहिलो चरणमा हारेर पदकको होडबाट बाहिरिएकी थिइन् । यसपछि एक टिभी अन्तर्वार्तामा मिडियाको प्रश्नको जवाफ दिइरहेकी थिइन् । सो अन्तर्वार्तामा मारिया धेरै निरास पनि देखिएकी थिइन् । त्यही बेला उनका कोच लुकास सोसेडो पछाडिबाट आए । उनको हाथमा एक कागज थियो, जसमा लेखिएको थियो—के तिमी मसँग बिहे गर्छ्यौ । उनले घुँडाले टेकेर मारियालाई प्रपोज गरे, जसलाई मारियाले स्वीकार पनि गरिन् । कोचले प्रपोज गर्ने क्रममा बताए कि तिमी छिटै हुन्छ भन, किनभने सबै मान्छेको नजर उनीमाथि रहेको छ ।मारिया र सोसेडो पछिल्लो १७ वर्षदेखि रिलेसनसिपमा छन् । सोसेडोले २०१० मा पेरिसमा भएको विश्व च्याम्पियनसिप दौडानमा पनि मारियालाई बिहेको लागि प्रपोज गरेका थिए । तब, मारियाले हुन्छ भनेकी थिइनन् । उनले सोसेडोलाई बताएकी थिइन्–‘यो ठट्टा हो या अरू केही हो ।’ तर टोक्यो ओलम्पिकमा उनले मानेकी छन् ।यसअघि टोक्यो ओलम्पिकमै जर्मन फरवार्ड मेक्स क्रुसले उनकी प्रेमिकालाई क्यामराको सामुन्ने प्रपोज गरेका थिए । उनको प्रपोजलाई पनि सकारात्मक जवाफ आएको थयो । जर्मनी टिमले साउदी अरबसँग खेलेको खेलमा उक्त प्रस्ताव राखिएको थियो, खेलमा जर्मनी ३–२ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्