एलेक्जान्डरको राष्ट्रिय कीर्तिमान



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली पौडीबाज एलेक्जान्डर गाडेगार्ड शाह (एलेक्स) ले जारी टोक्यो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान रचेका छन् ।
एलेक्सले मंगलबार टोक्योको स्विमिङ पुलमा पुरुष सय मिटर फ्रिस्टाइलमा हिट जित्नुका साथै राष्ट्रिय कीर्तिमान राखेका हुन् । उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान राखे । यसअघि उनको नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमानमा केही सुधार भएको हो ।
हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा ८–८ खेलाडी रहेका छन् । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना सकिइसकेको छ । अन्य हिट चरणमा प्रतिस्पर्धा गर्ने खेलाडीले एलेक्सभन्दा राम्रो समय निकालेका छन् ।
एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे । १३ औं दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए ।

 

प्रतिक्रिया दिनुहोस्