बेनी नगरपालिकामा ७३ लाख बढीका विभिन्न कृषि कार्यक्रम सञ्चालन, स्थानीय लाभान्वित

6.77k
Shares

प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाद्वारा गतवर्ष साढे ७३ लाख रुपैयाँको कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । बेनी नगरपालिकाअन्तर्गत कृषि शाखामार्फत नगरपालिका क्षेत्रमा कुल ७३ लाख ५० हजार रुपैयाँको लागतमा कृषिका कार्यक्रमहरु सञ्चालन गरिएको हो ।

वार्षिक स्वीकृत कार्यक्रमबाट प्रविधिमा कृषकको पहुँच बढाउन तथा कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाको विभिन्न वडाका १ सय ६३ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा १/१ वटा खेत जोत्ने मिनी टेलर हलो अर्थात् ट्क्याक्टर वितरण भएको कृषि शाखाले जनाएको छ । यसैगरी टनेलमा तरकारी खेती उत्पादन गर्न १ सय ४४ जना कृषकलाई लक्षित गरेर १/१ थान प्लाष्टिक टनेल वितरण गरिएको छ ।

त्यस्तै सुन्तलाजात फलफुलतर्फ कृषकहरुलाई ११ हजार सुन्तला तथा ११ हजार कागतीका बेर्ना उपलब्ध गराइएको छ । कृषकलाई व्यक्तिगत फर्मको आधारमा २० वटाका दरले सुन्तला र कृषक समूहलाई ३ हजारसम्म शतप्रतिशत अनुदानमा बेर्ना वितरण गरिएको कृषि शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । गतवर्ष नगरपालिकाको ५० लाख र वडा कार्यालयहरुको २३ लाख ५० हजारको लागतमा कृषकहरुको मागको आधारमा कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बेनी नगरपालिकाको कृषि शाखाका प्रमुख आकृति ढुङ्गानाले बताउनुभयो ।

नगरपालिकाभित्र विभिन्न वडामा क्रियाशील कृषक सञ्जाल, कृषि समूह, उपभोक्ता समिति र कृषकको व्यक्तिगत फर्मलाई सुन्तला तथा कागतीको बिरुवा, मिनी टेलर हलो, प्लाष्टिक टनेल, मौरीका घार एवं बिऊबिजनहरु सहयोग गरिएको बेनी नगरपालिकाले जनाएको छ । बेनी नगरपालिकाको सम्पर्कमा ११ वटा विभिन्न कृषि सहकारी, २२ वटा कृषि सञ्जाल रहेका छन्भने नगर क्षेत्रमा कृषि तथा पशुपन्छीका व्यक्तिगत र सामूहिक फर्महरु समेत रहेको कृषि शाखा प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।

बेनी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउन बाली वस्तुको साना व्यवसायिक कृषि पकेट केन्द्र विकास कार्यक्रम पनि सञ्चालन गरिएको छ । मकै पकेट विकास कार्यक्रमतर्फ बेनपा २ ज्यामरुककोटको सानालेकमा गतवर्ष १२ लाख रुपैयाँको मकै पकेट विस्तार कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको छ ।

कार्यक्रममार्फत कृषकहरुलाई १८ थान मिनीटेलर, ५ थान स्प्रेयर, ८ थान मेटलबिन, २ थान थ्रेसर, १ सय ९२ थान हँसिया, ९५ थान कोदालो, २ थान मकै पिसानी मेसिन दिनुका साथै सिँचाइ कुलो मर्मत, पाइप तथा बिऊबिजन खरिदमा सहयोग गरिएको छ ।

यता बेनपा ५ डडुवामा भने १२ लाख रुपैयाँको कृषकलक्षित मौरी विकास कार्यक्रम सञ्चालन गरिएको कृषि शाखाका प्राविधिक सहायक संगीता थापाले बताउनुभयो । कार्यक्रमअनुसार कृषकहरुलाई २ सयवटा मौरीको गोलासहित घार, १ थान मिनीटेलर, १र१ थान टोपी, ग्लोव्स सहयोग गरिएकोमा तालिम सञ्चालन तथा चरन व्यवस्थापनमा समेत सघाइएको छ ।

सिँचाइका लागि कृषकहरुलाई २७ सय २० मिटर पाइप वितरण गरिएको छ । शहर, बजारमा कृषकलक्षित कार्यक्रमतर्फ कौसी तरकारी खेतीलाई प्रवद्र्धन गर्न आवश्यक तालिम पनि दिइएको थियो । कृषकले पालेको कुखुरालाई दानापानी खुवाउने भाँडावर्तन सहयोगलगायत आलुको बिऊ वितरण गरिएको छ । नगरपालिकामार्फत सञ्चालित कृषिसम्बन्धी कार्यक्रमले ग्रामीण भेगका कृषकहरु लाभान्वित भएका छन् ।