लेवान्डोस्की ‘बेस्ट फुटबलर अफ द इयर’



म्युनिख, (एजेन्सी) ।

जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की जर्मनीको ‘बेस्ट फुटबलर अफ द इयर’ घोषित भएका छन् ।
पोल्यान्डका ३२ वर्षीय फरवार्ड वर्ष २०२१ का लागि जर्मनीको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यो अवार्ड जर्मनीमा खेल्ने वर्षको सर्वोत्कृष्ट एक खेलाडीलाई वार्षिकरूपमा दिइने अवार्ड हो । लेवान्डोस्कीले लगातार दोस्रो वर्ष पनि यो अवार्ड जितेका हुन् । अघिल्लो वर्ष पनि उनैले यो अवार्ड जितेका थिए । यो अवार्ड भोटिङबाट घोषणा गरिन्छ ।

लेवान्डोस्कीले आफ्नै सहकर्मी जर्मन खेलाडी थोमस मुलरलाई पछि पार्दै उक्त अवार्ड हात पारे । गत सिजन लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले घरेलु लिगमा मात्रै २९ खेलबाट ४१ गोल गर्दै ७ गोलमा असिस्ट प्रदान गरेका थिए । ४१ गोलका साथ उनले युरोपियन गोल्डेन बुट जितेका थिए ।

गत वर्ष बार्यनले लगातार नवौंपटक घरेलु बुन्डेसलिगा जित्दा लेवान्डोसकीले महत्वपूर्ण योगदान दिएका थिए । सिजनको अन्त्यतिर घाइते भए पनि चोटमुक्त हुँदै मैदान फर्किएपछि पनि उनले अन्तिम ४ खेलबाट ६ गोल गरेर घरेलु लिगमा कुल ४१ गोल पुराएका थिए । गत सिजन बार्यनले बुन्डेसलिगा र क्लब विश्वकपको उपाधि जित्यो ।

गत सिजन नै लेवान्डोस्कीले बुन्डेसलिगामा लिजेन्ड खेलाडी जेरार्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो सिंगल सिजनमा सर्वाधिक ३९ गोलको रेकर्ड भंग गरेका थिए । लेवान्डोस्कीले सिजनभरमा कुल ४१ गोल गरेपछि बुन्डेसलिगमा एकै सिजनमा सर्वाधिक गोल गर्ने मुलरको नाममा रहेको रेकर्ड लेवान्डोस्कीले भंग गरेका थिए । गत सिजन उनले समग्रमा कुल ४८ खेलबाट ४८ नै गोल गरे ९ गोलमा असिस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्