अलमुताइरीको पक्षमा क्लबहरूको प्रदर्शन



हेटौंडा, (नेस) ।

पछिल्लो समय चर्चामा रहेका पुरुष राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पक्षमा हेटौंडामा प्रदर्शन भएको छ ।

प्रशिक्षक अल्मुताइरीले मानसिक दबाबका कारण राजीनामा दिएको भन्दै उनलाई मानसिक दबाबमुक्त गर्न सामूहिकरूपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको मकवानपुरका फुटबल क्लबहरूले जनाएका छन् । प्रदर्शनमा क्लबका खेलाडी र खेलप्रेमीको सहभागिता थियो ।

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक आल्मुताइरीको राजीनामाको अभिव्यक्तिबारे आपत्ति जनाउँदै मकवानपुरका विभिन्न्न फुटबल क्लबद्वारा जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामासमक्ष संयुक्त पत्र दिइएको छ । उनीहरूले हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेका थिए ।

नेपाली राष्ट्रिय फुटबल टिमअन्तर्गत् पुरुष टिमका प्रशिक्षक अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । एन्फाले उनको सम्झौता अवधि थप्न कतार फुटबल संघलाई पत्राचार गरिरहेकै अवस्थामा राजीनामा घोषणा गरेको मकवानपुरका क्लबहरूले जनाएका छन् ।

‘छोटो समयमा चर्चा कमाएका राष्ट्रिय टिमका प्रशिक्षक अलमुताइरी नेपाली खेलाडीले रुचाएका हालसम्मकै प्रशिक्षक हुन् ।’ मकवानपुरका २२ क्लबको एउटै स्वर छ–‘प्रशिक्षकलाई मानसिक दबाब दिइनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्