सागका पदक विजेतालाई नगद पुरस्कार



काठमाडौं, (नेस) । 

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सतर्फ पदक जितेका ८ खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स संघले नगद पुरस्कार प्रदान गरेको छ ।

एथ्लेटिक्स संघले १३औं सागका स्वर्णपदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्यपदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, वागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र पूर्व सभासद कल्पना चौधरी (बस्नेत) ले पुरस्कार प्रदान गरेका थिए ।

दुई वर्षअघि नेपालमा आयोजना भएको १३औं सागअन्तर्गत एथ्लेटिक्सतर्फ नेपालले तीन स्वर्ण, एक रजत र चार कांस्यपदक जितेको थियो । सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्णपदक जितेका थिए । यसै गरी पुष्पा भण्डारीले महिलातर्फको म्याराथनमा रजतपदक जितेकी थिइन् । यसै गरी सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्यपदक जितेका थिए ।

सोही कार्यक्रममा अल इन्डिया जुनियर एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरिएको थियो । उनले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । यसै गरी केन्याको नैरोबीमा आयोजना हुने वल्र्ड यू–२० जुनियर एथ्लेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउनेछन् । उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथ्लेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्णपदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्