रियल मेड्रिड पराजित



लन्डन, (एजेन्सी) ।

प्रि–सिजन म्याचअन्तर्गत स्पेनिस क्लब रियल मेड्रिड पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियललाई स्कटल्यान्डको क्लब रेन्जर्सले २–१ गोल अन्तरले स्तब्ध पारेको हो । खेलमा शुरूवाती अग्रता लिए पनि दोस्रो हाफमा १० खेलाडीमा सीमित भएपछि रियलले कमजोर टिमसँग हार बेहोर्न पुगेको थियो । रियल १० खेलाडीमा खुम्चिएपछि घरेलु टोली रेन्जर्सले पाहुना टोलीमाथि उत्कृष्ट पुनरागमन जित निकालेको थियो ।

आइब्रक्स रंगशालामा भएको खेलमा रियलले खेलको आठौं मिनेटमै अग्रता बनाएको थियो । सो गोल ब्राजिलियन युवा खेलाडी रोड्रिगोले गरेका थिए । सोही गोलको अग्रता लिएर अघि बढेको रियलले त्यसलाई दोस्रो हाफमा बचाउन सकेन । खेलको ५५औँ मिनेटमा रेन्जर्सका लागि पासिअन साकालाले गोल गर्दै खेल १–१ को बराबरी बनाएका थिए ।

बराबरी गोल बेहोरेपछि दबाबमा परेको रियल खेलको ७६औं मिनेटमा दवबाबमा पर्न गयो । दोहोरो पहेंलोका साथ रातो कार्ड खाँदै डिफेन्डर नाचोले मैदान छाडेपछि रियलमाथि झन् दबाब बढेको थियो । त्यसको एक मिनेटपछि नै रेन्जर्सका लागि सेड्रिक इटेनले गोल गर्दै रियलविरुद्ध २–१ को अग्रता दिलाए । तर, त्यसपछि रियलले गोल फर्काउन सकेन र रेन्जर्सले २–१ ले विजयी बन्यो ।

मिश्रित खेलाडी समावेश गरेर रेन्जर्सविरुद्ध टोली उतारेका रियलका नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई यो हारले नयाँ सिजनको मुखमा झट्का दिएको छ । यो खेल जित्नेमा रियल ढुक्क देखिए पनि घरेलु टोलीबाट सिकार हुनुपर्दा रियलले प्रि–सिजन धर्मराएको छ । रियलका लागि यो प्रि–सिजनको तेस्रो खेल थियो ।

प्रतिक्रिया दिनुहोस्