टिटमसले लेडेकीलाई हराएर स्वर्ण जितिन्



टोक्यो, (एजेन्सी) ।

अस्ट्रेलियाकी एरिआर्न टिटमसले पाँचपटक ओलम्पिक स्वर्णपदक जितेकी केटी लेडेकीलाई स्तब्ध तुल्याएर टोक्यो ओलम्पिकमा स्वर्ण जितेकी छन् ।

टोक्योे स्विमिङ पुलमा टिटमसले स्विमिङतर्फ महिला ४ सय मिटर फ्रिस्टाइल इभेन्टमा स्वर्ण जितेकी हुन् । आधा दूरी पार हुँदासम्म विश्व कीर्तिमानी अमेरिकी स्विमर लेडेकी अघि थिइन् । तर, टिटमसले अन्तिम ५० मिटरमा दूरी कम गरिन् र अन्तमा स्वर्ण हात पारिन् । उनले ३ मिनेट ५६.६९ सेकन्डमा सो दूरी पार गर्दा लेडेकी ०.६७ सेकेन्डले पछि परिन् । चीनकी ली बिन्गजीले ४ मिनेट ०१.४८ सेकेन्डसहित कांश्यपदक हासिल गरिन् ।

टिटमसले लेडेकीविरुद्ध टोक्यो स्विमिङ पुलमा तीनवटा विधामध्ये एकमा बाजी मारेकी छन् । यी दुईबीच अरू दुई विधामा पनि प्रतिस्पर्धा हुन बाँकी छ, ती हुन् : ८ सय मिटर र २ सय मिटर फ्रिस्टाइल इभेन्ट । २४ वर्षीया लेडेकी डिफेन्डिङ ओलम्पिक विजेता हुन् भने टिटमस वर्तमान विश्व विजेता हुन् ।

पुरुषतर्फ अमेरिकालाई स्वर्ण

अमेरिकाका काइलेब ड्रेसेलको नेतृत्वमा अमेरिकी स्विमिङ टिमले ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका छन् । अमेरिकी टिमले सो दूरी ३ मिनेट ०८.९७ सेकेन्डमा पूरा गरेको हो । इटालियन टिमले ३ मिनेट १०.११ सेकेन्डसहित रजत र अस्ट्रेलियाको टिमले ३ मिनेट १०.२२ सेकेन्डसहित कांश्यपदक जिते ।

ड्रेसेलका लागि यो टोक्योमा ६ स्वर्ण जित्ने लक्ष्यमा पहिलो स्वर्ण हो । उनले टोक्योमा ५० मिटर, १ सय मिटर फ्रिस्टाइल र १ सय मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछन् । उनको तीन रिलेमध्ये एकमा भने स्वर्ण जितेर सकिएको छ । उनले यसअघि रियो ओलम्पिक २०१६ मा दुई स्वर्ण जितेका थिए ।

जापानकी मोमिजोले इतिहास रचिन्

जापानकी मोमिजी निशियाले टोक्यो ओलम्पिकमा इतिहास रचेकी छन् । उनी १३ वर्ष ३ सय ३० दिनको उमेरमा स्वर्ण जितेर जारी ओलम्पिकमा सबैभन्दा युवा खेलाडी बनिन् । उनले महिलाको व्यक्तिगत स्केटबोर्डिङमा स्वर्ण आफ्नो नाममा लेखाएकी हुन् ।

सोही विधाको रजतपदक पनि युवा खेलाडीकै पक्षमा गएको छ । १३ वर्ष २ सय ३ दिनको उमेरकी ब्राजिलियन रायसा लियनले रजतपदक जितेकी हुन् । त्यस्तै, १६ वर्षीया जापानकी फुना नाकायामाले कांश्यपदक हासिल गरिन् । यो ओलम्पिकमा नयाँ खेलको रूपमा परिचित गरेको हो ।

ओलम्पिक इतिहासमा मोमिसा स्वर्ण जित्नेमा दोस्रो युवा खेलाडी हुन् । पहिलो स्थानमा मार्जोरी गेस्ट्रिङ छिन् । उनले १९३६ को बर्लिन ओलम्पिकमा १३ वर्ष २ सय ६७ दिनमा स्प्रिङबोर्डमा स्वर्ण जितेर इतिहास रचेकी थिइन् । उनको यो कीर्तिमान हालसम्म पनि तोडिन सकेको छैन । उनी मोमिसाभन्दा ६३ दिनले युवा थिइन् ।
ड्रिम टिम पराजित

ओलम्पिकमा ड्रिम टिमको उपनाम पाएको अमेरिकी पुरुष बास्केटबल टिम पराजित भएको छ । फ्रान्सले अमेरिकालाई ८३–७६ अंले हराएको हो । योसँगै अमेरिकाको बास्केटबलमा लगातार २५ ओलम्पिक खेलमा जितेको क्रम तोडिएको छ । फ्रान्स टिमका लागि इभान फार्ननिइरले २८ अंकको योगदान दिएका थिए ।

अमेरिकी पुरुष बास्केटबल टिमले पछिल्ला तीन ओलम्पिकमा स्वर्ण जितेको थियो । तर, टोक्योमा अमेरिकी टिमको सोचे जस्तो शुरूवात भएन । यसअघि वार्म अप खेलमा समेत टिम पराजित भएको थियो । नाइजेरिया र अस्ट्रेलियाले ओलम्पिक अघिको वार्मअप खेलमा अमेरिकालाई पराजित गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस्