अफ्रिदीले काठमाडौं किंग्स इलेभेनबाट खेल्ने



काठमाडौं, (नेस) ।

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपिएल) मा काठमाडौं किंग्स इलेभेनबाट खेल्ने भएका छन् ।

काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको हो । ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स–११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । अफ्रिदी नेपाल आउन लागेका सर्वाधिक ठूला नामका अलराउन्डर हुन् । अफ्रिदी विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डरमा पर्दछन् । काठमाडौं किङ्स–११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट ईपीएल खेल्ने जानकारी गराएको हो । अन्तर्राष्ट्रिय खेलाडीका रूपमा काठमाडौंले अफ्रिदीलाई अनुबन्ध गरेको हो ।

अलराउन्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित नाम हुन् । अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई, ९९ टि–२० आई र ३ सय २६ टि–२० खेल खेलेका छन् । अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडिआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । अफ्रिदीले ओडीआईमा ८ शतक र ३९ अर्धशतकसहित कुल ८ हजार ६४ रन बनाएका छन् । ओडीआईमा अफ्रिदीले ३ सय ९५ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ७–१२ छ । टि–२० मा अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए । अफ्रिदीले टि–२० मा १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन् ।

ओडीआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए । जुन खेलमा अफ्रिदी ओडीआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडी बनेका थिए । उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । २००९ को टि–२० मा पाकिस्तानलाई विश्वकप जिताउन अफ्रिदीले फाइनलमा श्रीलंकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । २००७ को टि–२० विश्वकपमा अफ्रिदी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । २०१६ पछि अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन् । अफ्रिदीसँग झन्डै दुई दर्जन टि–२० लिगको अनुभव छ ।

काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन् ।

चौथो संस्करणको ईपीएल आगमी असोज ९ देखि २३ सम्म टीयू मैदानमा हुनेछ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । जसमा ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्