‘वर्तमान सरकार असैद्धान्तिक गठबन्धन’

154
Shares

अनिल खत्री, गुल्मी ।

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान गठबन्धनको सरकार असैद्धान्तिक भएकाले देश र जनताको हितमा काम गर्ने एजेन्डा नै नभएको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट हटाएर देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैरराजनितिक क्रियाकलाप भएको ज्ञवालीको आरोप छ । सर्वोच्चको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको उहाँको भनाइ छ ।

सर्वोच्चको फैसलाले आधारभूत संरचनाहरुलाई पनि खलबल्ल्याएको ज्ञवालीको तर्क छ । राजनीतिक संकटलाई राजनीतिक दलबाटै समाधान खोजिनुपर्नेमा त्यस नहुनु दुःखद पक्ष रहेको उहाँले बताउनुभयो ।

पार्टीलाई एकढिक्का बनाउनका लागि माधव पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिएको बताउँदै उहाँले भन्नुभयो– ‘माधव समहूले गरेका गल्तीहरु हेर्दा पानी खाने ठाउँ पनि राखेका छैनन्् ।’

उहाँले एमालेलाई एकढिक्का बनाएर लैजानका लागि हालसम्मका सबै गल्तीलाई माफ दिएको थप्नुभयो । एमाले नेतृत्वको सरकारलाई ढालेर कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको उहाँको तर्क छ ।

केही समूहका व्यक्तिगत स्वार्थका कारण एमालेमा यस्तो अवस्था आएको ज्ञवालीको भनाइ छ । उहाँको यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको मन छुने र विकासका कामहरु गरेको दाबीसमेत छ ।

वर्तमान सरकारले एमाले फुटाउनका लागि अध्यादेश ल्याउन सक्ने भन्दै त्यो सफल हुन नदिने ज्ञवालीले प्रस्टाउनुभयो ।