‘सी’ डिभिजन छनोट खेल्दै आरआरवाईसी



हेटौंडा, (नेस) ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले ‘सी’ डिभिजन लिग फुटबल छनोट खेल्ने भएको छ । क्लबलाई व्यावसायिक बनाउँदै लिग फुटबलमा पुर्‍याउन छनोट खेल्ने निर्णय गरिएको हो । मकवानपुरबाट यसअघि हेटौंडाको विजय युथ क्लबले छनोट खेल खेले पनि छनोट हुन भने सकेन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १ गतेबाट ‘सी’ डिभिजन छनोट खेल सञ्चालन गर्दैछ । क्लबलाई ‘ए’ डिभिजन लिगसम्म खेलाउने उद्देश्यले ‘सी’ डिभिजन छनोटमा सहभागी हुन लागिएको आरआरवाईसी अध्यक्ष रेशम जम्कट्टेलले जानकारी दिए ।

क्लबले खेलाडीलाई आवश्यक प्रशिक्षण गराइरहेको छ । क्लबले ‘सी’ डिभिजन लिगको छनोट खेल्ने निर्णय गरेसँगै मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरका खेलाडीलाई समेटेर प्रशिक्षण सञ्चालन भइरहेको अध्यक्ष जम्कट्टेलले बताए ।

छनोटका लागि नेपालका विभिन्न स्थानबाट नाम चलेका क्लबहरूको सहभागिता रहने भएकोले आरआरवाईसीले पनि राम्रो तयारी गरिरहेको क्लबले जनाएको छ । ‘सी’ डिभिजन खेल्न काठमाडौंसहित झापा, रूपन्देही, वीरगञ्ज, सर्लाहीलगायतका नाम चलेका क्लबले छनोट खेलमा भाग लिँदैछन् ।

जिल्ला लिगसहित छिमेकी जिल्लाहरूमा हुँदै आएका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको क्लबलाई छनोट खेल्न ओरन्टो मल्टिट्रेड प्रालि कम्पनीकी बोर्ड अफ डाइरेक्टर इन्दिरा शाहले एक लाख ३५ हजार रुपियाँ सहयोग गरेकी छन् । छनोट खेलका लागि करिब ५ देखि ६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै ‘सी’ डिभिजन छनोट भदौ १ गतेबाट शुरू हुने जानकारी दिएको हो । यद्यपि, कोभिडको अवस्था मूल्यांकन र सरकारसँग अनुमति लिएपछि मात्र एन्फाले फुटबल गतिविधि सञ्चालन गर्न पाउनेछ ।

एन्फाले छनोटमा सहभागी हुन क्लबले साउन २५ गतेभित्र टिम दर्ता गर्नुपर्ने जनाएको छ । टिम दर्ता गर्न ३० हजार शुल्क लाग्नेछ ।

जिल्ला प्रशासन, राखेप, खेलकुद विकास समिति वा स्थानीय तहमा दर्ता भएको प्रमाणपत्र, स्थायी लेखा नम्बर, क्लबको कार्यसमितिको निर्णय, लेखापरीक्षण विवरण र विधानको प्रतिलिपि एन्फा सचिवालयमा बुझाउनुपर्ने शर्त राखिएको छ । छनोट प्रतियोगिताबाट उत्कृष्ट टिम ‘सी’ डिभिजनमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्