अलमुताइरीको राजीनामा सामाजिक सञ्जालमा



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमअन्तर्गत पुरुष टिमका प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आइतबार कुवेती प्रशिक्षकले राजीनामा दिने भनेर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । उनले पोस्टमा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई आरोप लगाउँदै राजीनामा दिन लागेको अलमुताइरीले बताए । उनले नेम्वाङले पछिल्ला तीन सातादेखि नौटंकी गरिरहेको भनेर लेखेका छन् ।

एन्फाले भने प्रशिक्षक अलमुताइरीबाट कुनै पत्र नआएको जानकारी गराएको छ । एन्फाका प्रवक्ता किरण राईले नेपाल समाचारपत्रलाई बताउनुभयो–‘आधिकारिकरूपमा यस्तो राजीनामा पत्र एन्फामा आएको छैन । उहाँले (अलमुताइरी) सामाजिक सञ्जालमा मात्रै लेख्नुभएको छ । यो जटिल समस्या आइपरेको हुँदा हामीले मिलाउन प्रयास गरिरहेका छौँ । मिलेर जान्छ भन्ने हाम्रो अपेक्षा पनि छ ।’

तर, नेम्वाङले भने आफू दोषी भएको भए पदबाट राजीनामा दिन तयार भएको जवाफ दिएका छन् । उनले सञ्चार माध्यममार्फत बताए–‘मलाई आरोप लगाएर राजीनामा दिन लागेको खबर सुन्दा म आश्चर्यमा परें । मैले अहिलेसम्म व्यक्तिगतरूपमा उनलाई भेटेको पनि छैन । यदि म दोषी छु भने पद छाड्न तयार छु । मैले बुझें कि यो ममाथि षडयन्त्र हुन लागेको छ । यसको छानबिन हुनुपर्छ ।’

अलमुताइरी गत वर्ष चैतमा नेपाली राष्ट्रिय टिममा मुख्य कोचको रूपमा आबद्ध भएका थिए । उनको नेतृत्वमा नेपाली राष्ट्रिय टिमले विश्वकप छनोट तथा एक मैत्री खेल खेलेको थियो । नेपालले विश्वकपका तीन खेल र इराकविरुद्ध मैत्री खेल खेलेकोमा चाइनिज ताइपेइलाई हराउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्