विश्व कीर्तिमानसहित अस्ट्रेलियालाई स्वर्ण



टोक्यो, (एजेन्सी) ।

जारी टोक्यो ओलम्पिकमा महिलाको ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा अस्टे«लियन टिमले विश्व कीर्तिमानसहित स्वर्णपदक जित्न सफल भएको छ ।

अस्ट्रेलियन स्विमिङ टिमले ३ मिनेट २९.६९ सेकेन्डसहित स्वर्ण जित्दा उक्त इभेन्टमा विश्व कीर्तिमान तय गरेको हो । दोस्रो स्थानको क्यानाडा टिमले ३ मिनेट ३२.७८ सेकेन्ड र तेस्रो स्थानको अमेरिकी टिमले ३ मिनेट ३२.८१ सेकेन्डको समय निर्धारण गरेका हुन् । तीन वर्षअघि यही अस्टे«लियन टिमले कमनवेल्थ गेम्समा ३ मिनेट ३०.०५ सेकेन्डको विश्व कीर्तिमानी समय निकालेको थियो । स्वर्ण दिलाएको टिममा केट क्याम्पबेल, एमा मेककिओन, मेग हेरिस र ब्रोन्टे क्याम्बेल रहेका छन् ।

यसै गरी ट्युनिसियन स्विमर अहमद हाफ्नाओइले पुरुष स्विमिङतर्फ स्वर्ण जित्दा सबै आश्चर्यमा परे । यसलाई ओलम्पिक इतिहासमा स्तब्ध नतिजाको रूपमा लिइएको छ । १८ वर्षीय हाफ्नाओइले ४ सय मिटर फ्रिस्टाइल इभेन्टमा अस्ट्रेलियाका ज्याक मेकलगलीनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । उनले सो दूरी ३ मिनेट ४३.३६ सेकेन्डमा पूरा गर्दा ज्याक ०.१६ सेकेन्डले रजतमै सीमित भए ।

अमेरिकाका स्विमर कीरान स्मिथले कांस्य पदकमै चित्त बुझाए । स्मिथले सो दूरी ३ मिनेट ४३.९४ सेकेन्डमा पूरा गरेका थिए । हाफ्नाओइले २०२४ को ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्य राखेकोमा त्यसभन्दा अघि नै उनी ओलम्पिक स्वर्ण सफल भएपछि आपूm निकै आश्चर्यमा परेको बताए ।

यसै गरी महिलाको ४ सय मिटर व्यक्तिग मेड्ली इभेन्टमा जापानले स्वर्ण जितेको छ । २५ वर्षीया युइ ओहासीले आफ्नै पोडियममा दुई जना अमेरिकी स्विमरलाई पछार्दै स्वर्ण जित्न सफल भएकी हुन् । जितपछि उनले भनिन्– ‘साँच्चिकै महसुस भएन, यो मेरो लागि सपनाजस्तै भयो ।’

ओहासीले सो दूरी पार गर्न ४ मिनेट ३२.०८ सेकेन्ड समय लगाइन् । दोस्रो स्थानमा रहेकी एम्मा वियान्टले ४ मिनेट ३२.७६ सेकेन्ड समयमा सो दूरी पार गरेकी थिइन् । त्यस्तै हाली फ्लिकिन्गरले ४ मिनेट ३४.९० सेकेन्ड समय निर्धारित गर्दै कांस्य पदक हात पारेकी थिइन् । तर, यही इभेन्टमा पछिल्ला ओलम्पिकमा धाक जमाएकी हंगेरीकी काटिन्का होस्जु पाँचौं स्थानमा रहिन् । संजोगवश यो ओलम्पिक ४ सय मिटर मेड्ली क्वीन उपनाम पाएकी होस्जुको पाँचौं ओलम्पिकसमेत हो ।
सिमोन बाइल्सको अमेरिकी टिम दोस्रो

सिमोन बाइल्सको अमेरिकी टिम जारी टोक्यो ओलम्पिकअन्तर्गत महिला जिम्नास्टिक टिम क्वालिफाइङमा दोस्रो स्थानमा रहेको छ । बाइल्सले फ्लोर र भल्ट दुवैमा कमजोर प्रदर्शन गरेपछि उनको टिम रसियन ओलम्पिक कमिटी टिमसँग पछि परेको हो । अमेरिकी टिमले १ सय ७०.५२६ अंक जोड्दा रसियन टिमले १ सय ७१.६२९ अंक बटुलेको हो ।

पाँच वर्षअघि रियो ओलम्पिकमा चार स्वर्ण र एक कांस्य पदक जितेकी बाइल्समाथि सबैको नजर थियो । २४ वर्षीया बाइल्स अमेरिकाकी सबैभन्दा सफल जिम्नास्टिक हुन् । तर, क्वालिफाइङ चरणमा उनले फ्लोरमा गल्ती गर्न पुगिन् र उनको ०.३ अंक काटियो । उनको सबैभन्दा कमजोर प्रदर्शन बीममा समेत भएको थियो । उनले त्यहाँ पनि कम अंक जोडेकी थिइन् ।

पीएचडी गरेकी किसेन्होफरलाई स्वर्ण

अस्ट्रियाकी एना किसेन्होफरले ओलम्पिक डेब्युमै स्वर्णपदक जितेकी छन् । ३० वर्षीया किसेन्होफरले जारी टोक्यो ओलम्पिकअन्तर्गत रोड रेसमा स्वर्ण हासिल गरेकी हुन् । योसँगै एक सय २५ वर्षको अवधिमा अस्ट्रियाबाट कुनै पनि साइक्लिङ प्रतिस्पर्धामा ओलम्पिक पदक जित्ने उनी पहिलो खेलाडी बनिन् ।

किसेन्होफरले दोस्रो स्थानमा रहेकी नेदरल्यान्डस्की एनेमिएक भान भिउटेनलाई ७५ सेकेन्डले पछि पारेकी हुन् । किसेन्होफर व्यावसायिक साइक्लिस्ट होइनन् । उनले भिएना र क्याम्ब्रिज विश्वविद्यालयबाट गणित विषयमा ग्राजुएट गरेकी छन् । साथै उनले पीएचडीसमेत गरेकी छन् ।

बार्टी पराजित

महिला टेनिसकी विश्व नम्बर एक खेलाडी एस्लीग बार्टी पहिलो चरणमै स्तब्ध भइन् । हालै विम्बल्डन उपाधि जितेकी अस्ट्रेलियन बार्टीलाई ४८ औं वरीयताकी सारा सोबिबेस टोर्मोले सहजै पराजित गरिन् । स्पेनकी साराले सो खेल ६–३, ६–३ ले जितेकी हुन् ।

अर्को खेलमा जापानी खेलाडी नाओमी ओसाकाले भने जित हासिल गरिन् । ओसाकाले चीनकी साइसाई झेंगलाई ६–१, ६–४ ले हराइन् । यस्तै विम्बल्डन फाइनलमा पराजित केरोलिना पिलीस्कोभा दोस्रो चरणमा पुगेकी छन् । चेक रिपब्लिककी पीलीस्कोभाले फ्रान्सकी एलिज कोर्नेटलाई ६–१, ६–३ ले पन्छाइन् ।

आइतबार जापानमा तापक्रम ३२ डिग्री सेल्सियसमा पुगेको थियो । तापक्रम बढेको अवस्थामा खेलाडीलाई दोस्रो र तेस्रो सेटको बीचमा १० मिनेट विश्राम दिइएको थियो । पुरुष टेनिसका विश्व नम्बर एक खेलाडी नोभाक जोकाभिचले पहिलो चरणको खेल दौडानमा गर्मीलाई लिएर गुनासो गरेका थिए । अर्कोतिर ब्रिटिस खेलाडी एन्डी मुरेले प्रतियोगिताबाट नाम फिर्ता लिए । उनी रियो ओलम्पिकको मेन्स सिंगल्स विजेता थिए ।

प्रतिक्रिया दिनुहोस्