एमाले विवाद संसदीय समितिमा छताछुल्ल

224
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो ।

सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पालो आएपछि एमाले संस्थापन पक्षका सांसद रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए ।

रानाले परमादेशको प्रसंग उठाएपछि नेता नेपालले प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गर्नुभयो । कांग्रेस सांसद विपीन राजभण्डारीले संसद् र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिनुभएको थियो । उहाँले मन्त्रिपरिषद्मा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको समेत स्मरण गराउनुभयो ।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रहसमेत गरेका थिए । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठक स्थल नभएको भन्दै समितिले दिएको विषयमा केन्द्रित हुन आग्रह गरे पनि सांसदहरू रानामाथि खनिएका थिए ।

यसैबीच एमालेका नेता माधवकुमार नेपालले संसद् पुनःस्थापना गरेर आफूहरू सबैलाई मर्नबाट जोगाइएको भन्दै सांसदहरूलाई बधाई दिनुभएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले समितिमा रहेका सदस्यहरूलाई बधाई दिनुभएको हो ।

नेता नेपालभन्नुभयो– ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ । संसद् फेरि पुनर्जीवित भएको छ । हामी सबैलाई बधाई छ । एउटा संघर्षबाट सफल भएर भेट भएको छ ।’ महामारीका बेला तत्काललाई चुनावमा जानुपर्ने स्थिति टरेको बताउँदै उहाँले अब संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालले भन्नुभयो– ‘संसद् पुनःस्थापना नभएको भए हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ–गाउँ जानुपर्ने अवस्था हुने थियो । त्यसको अन्त्य गरेका छौं । अब संसद्लाई प्रभावकारी बनाएर लानुपर्नेछ ।’ नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले अघिल्लो सरकारका नराम्रा कामबाट सिकेर सचेत भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो  ।