भारतमा अलपत्र परेका ४ बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा

532
Shares

यमलाल भुसाल, बुटवल ।

नेपालका बिभिन्न जिल्लाबाट भारतमा रोजगारीको लागी जाने नेपालीहरुको संख्या धेरै छ । कतिपय घर सल्लाहले भारत जाने गरेका छन भने कतिपय भागेर नै । बिशेष गरि युवाहरु भारत जाने क्रम बढ्दो रहे पनि अहिले नाबालकहरु पनि भारत पुग्ने गरेका छन् ।अभिभावककै सल्लाहमा कतिपय बालबालिकाहरु बिभिन्न होटलमा काम गर्न भारत तर्फ जाने गरेका छन् । पछिल्लो पटक भारतमा अलपत्र परेका ४ नावालकलाई उद्धार गरि नेपाल ल्याईएको छ ।

भारतमा बालबालिका बेचबिखनको लागी तथा उनिहरुको अङ्ग चोरी एवम भिख माग्ने लगायत बिभिन्न गैरकानूनी काममा फसेका हुन्छन् । विश्वकै धेरै जनसंख्या मध्येको एक भारतमा यस्ता गैरकानूनी कार्यमा लाखौ बालबालिका रहे पनि नेपालका ४ जना बालबालिका भाग्यमानी रहेका छन् । भाग्यमानी यस अर्थमा कि भारतमा यस्ता लाखौ बालबालिका यातनाको जिवल गुजार रहदा उनिहरु सकुशल नेपाल फिर्ता भएका छन् ।

बैतडीका १५ वर्षीय प्रकाश सिंह महरा, बाँकेको कोहलपुरका ९ वर्षीय रोशन बादी, ७ वर्षीय बिशाल बादी र ५ वर्षीय पुजा बादी पनि घरबाट भागेर भारत पुगेका थिए । प्रकाश पैदल नै भारत पुगेका थिए भने कोहलपुरका ३ जना बालबालिका ट्रकको सहायतामा भारत पुगेका थिए । गलत हातमा पुग्नु अघि नै भारतको सामाजिक संस्थाले उनिहरुलाई बाल आश्रममा राखेका थिए ।

यसरी बालआश्रममा रहेका उनिहरु चारै जनालाई प्रवासी नेपाली मित्र मंच भारत र मानव कल्याण मित्र मंच नेपालको सहयोगमा उद्धार गरि नेपाल फिर्ता ल्याईएको छ । ४ बालबालिका मध्ये ३ जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा कोहलपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष तिरथराम थारु मार्फत् आफन्तको जिम्मा लगाइएको छ । भने एक जनालाई केही दिनका लागि कोटिहवास्थित बालगृहमा राखिएको छ ।

६ महिना अघि कोहलपुर नाकाबाट भारत घुम्न र कमाउन जाने भनि हिँडेका चारै जना बालबालिकालाई भारतको बरेलीबाट उद्वार गरिएको हो । उनीहरुलाई नेपाली राजदूतावास दिल्लीबाट अनुमति पत्र प्राप्त गरी उत्तर प्रदेशको बरेली न्यायपीठ बाल कल्याण समितिको आदेशबाट आर्य समाज अनाथलायको संरक्षणमा राखिएको र सोही स्थानबाट उनिहरुलाई नेपाल ल्याईएको प्रवासी नेपाली मित्र मञ्चका महासचिव रघुनाथ पाण्डेले जनाउनु भयो ।

भारतमा भेटिने कयौं बालबालिका दलालमार्फत् पनि जाने गरेका छन् । कतिपय पारिवारिक कारण रोजगारीका लागि जाने पनि गरेका छन् । यसरी जाँदा उनीहरु जोखिममा हुन्छन् । मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बिभिन्न प्रलोभनमा परेर नेपाली बालबालिकाहरु भारत जाने गरेको बताए ।

यस्ता कतिपय बालबालिकाहरुको उद्धार गरि नेपाल फिर्ता ल्याईए पनि अझै पनि धेरै बालबालका भारतमै रहेको बताए । गरिबीको कारण र रोजगारीको कारण नेपालीहरु भारत जाने गरेको भए पनि बालबालिकाहरु पनि भारत जानुले नकारात्मक सन्देश फैलाएको प्रवासी नेपाली मित्र मञ्चकी महिला अध्यक्ष अनिता क्षेत्रीको भनाई छ ।

उनले भारतमा रोजगारी यति सजिलै नपाईने भएको र भारतमा पाईने नरकिय यातना बारे जनचेतना फैलाउनु आवश्यक रहेको बताईन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अलपत्र बालबालिकाको उद्धार गरेर मित्र मंचले मानवीय सेवामा ठूलो भूमिका निभाएको बताए । ‘यहाँहरुले ठूलो पुण्यको काम गर्नुभएको छ । हाम्रा कलिला बालबालिका जोखिमबाट बचेका छन, उनले भने ।प्रवासी मित्र मंचले अहिलेसम्म भारतमा अलपत्र परेका दुई हजार बढी बालबालिकाको उद्धार गरिसकेको जनाएको छ ।