काम नसकी बजेट खर्च, स्थानीय आक्रोशित

3.1k
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापाको एउटा गाउँपालिकाले भवन निर्माण कार्य सम्पन्न नगरी बजेट खर्च गरेको सार्वजनिक भएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले प्रदेश सरकारको बजेट काम नसकी बजेट खर्च गरेको हो ।

१ नम्बर प्रदेश सरकारको समपूरक अनुदानमा अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा कचनकवल गाउँपालिकालाई राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको थियो । तर, गाउँपालिकाले भवन निर्माणको काम सम्पन्न नहुँदै प्रदेश सरकारको एक करोड बजेट खर्चमा तानिसकेको भेटिएको छ ।

प्रदेश लेखा इकाई कार्यालय झापाको तथ्याङ्क अनुसार गाउँपालिकाले जेठ महिनासम्म ६६ लाख ६७ हजार खर्च गरेको थियो, भने असार महिनामा ३३ लाख ३३ हजार खर्च गरेको देखिएको छ ।

सरकारको खर्चसम्बन्धी मार्गदर्शन नियम अनुसार कुनै पनि स्थानीय तहले फ्रिज भएको रकम साउन ७ गतेसम्म फिर्ता गर्नुपर्ने प्रावधान रहेको प्रदेश लेखा इकाई कार्यालय झापाका कर्मचारी राम आचार्यले जानकारी दिनुभयो तर, गाउँपालिकाले असारमा खर्चमा हुन नसकेको फ्रिज रकम अहिले सम्म फिर्ता गरेको देखिँदैन । शुक्रबारसम्म गाउँपालिकाले प्रदेश लेखा इकाईमा आएर फ्रिज भएको रकम फिर्ता नगरेको कर्मचारी आचार्यको भनाई छ ।

गाउँपालिकाले भने खर्च भएको रकम फ्रिज भएको दाबी गर्दै आएको छ । स्थानीय हरि बस्नेतका अनुसार भवन निर्माण कार्यमा गाउँपालिकाका प्राविधिक पक्षले ठुलै आर्थिक चलखेल गरेको आरोप लगाउँनुभएको छ । घटना बाहिर आएपछि अहिले गाउँपालिका फ्रिज रकम फिर्ता गराउने चलखेलमा लागिसकेको उहाँको भनाई छ ।

भवनको कुल लागत ८३ लाख हो, गाउँपालिकाले १६ लाख फ्रिज भएको दाबी गर्दै आएको छ, प्रदेश सरकारकै बजेटबाट भवन बन्ने हो, भने गाउँपालिकाको ३० लाख कहाँ गयो ? । फ्रिज रकम १६ लाख कहाँ छ ? बस्नेतले भन्नुभयो । त्यसैगरी नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ का सभापति खड्कबहादुर लिम्बूले भवन निर्माणमा चरम भ्रष्टाचार भएकोले अविलम्ब छानबिन गर्न माग गर्नुभएको छ । भवन निर्माणको काम गुणस्तरहीन भएको आरोप लगाउँदै निर्माण स्थलमा दुई नम्बरी इँटा प्रयोग भइरहेको उहाँको भनाइ छ ।

भवन निर्माणमा राजवंशी विकास समितिलाइ एक पटक समेत जानकारी नगराएको समितिका सचिव कनक राजवंशीले आरोप लगाउँनुभयो । कम्पनीले पिकेट इटा प्रयोग गरिरहेको समेत उहाँको भनाइ छ ।

प्रदेश सरकारको एक करोड र गाउँपालिकाको ३५ लाख गरी एक करोड ३४ लाख ३५ हजार १४८ रुपैयाँ बराबरको इस्टिमेट रकम तोकेर गाउँपालिकाले २०७७ साल कार्तिक २० गते कचनकवल ३ स्थित आमबाडीमा बन्ने राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि टेन्डर आवहन गरेको थियो ।

त्यसपछि भवन निर्माणका लागि २० वटा फर्मले दर्ता गराएका थिए । त्यसमध्ये नेपाल पूर्वाधार एन्ड सप्लायर्स बागडोग ४ काठमाडौँले ठेक्का पारेको थियो । सप्लायर्सले भ्याटसहित सो ठेक्का ८३ लाख ५४ हजार ८६ रुपैयाँमा लिएको गाउँपालिकाका इन्जिनियर अमित ढुङ्गानाले बताउँनुभयो । टेन्डर स्वीकृतिका लागि सात दिनको आशयको सूचना पुस ९ गते निकालेको र माघ ९ गते सप्लायर्ससँग निर्माण सम्झौता भएको इन्जिनियर ढुङ्गानाले बताउँनुभयो । डेढ तले भवन असार २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

तर, निर्माण कम्पनी सञ्चालक टेकबहादुर श्रेष्ठले कोभिडको कारण देखाउँदै एक महिना म्याद थप गरेको गाउँपालिकाका योजना अधिकृत केशव मैनालीले बताउँनुभयो । गाउँपालिकाको साझेदारीमा निर्माण कार्य भएकोले गाउँपालिकाको बोर्ड बैठकले साउन २५ गतेसम्म म्याद थपेको उहाँको भनाई छ । असार २५ गतेसम्म भवनको हिसाब फरफारख गर्दा ६६ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर ढुङ्गानाले बताउँनुभयो । निर्माण कम्पनीले पेस्की रकम १६ लाख ५० हजार र पहिलो किस्ताबापत २३ लाख ४ हजार ९ रुपैयाँ लगिसकेको र दोस्रो किस्ताका लागि २५ लाख ३१ हजार माग गरेको उहाँले बताउँनुभयो । असार २५ गतेसम्म निर्माण कम्पनीले ४८ लाख ३१ हजार र ९ लाख पेस्की कट्टी गरी ५७ लाख ६० हजार पाउनु पर्ने देखिन्छ । त्यही प्राविधिक प्रतिवेदन लेखा शाखालाई बुझाएको उहाँले बताउँनुभयो । गाउँपालिका लेखा अधिकृत मनमोहन सिग्देलले अहिलेसम्म निर्माण कम्पनीले पेस्कीसहित ३९ लाख ५४ हजार लगिसकेको बताउँनुभयो । प्रदेश सरकारको एक करोड बजेटमध्येबाट १६ लाख ४५ हजार ९१४ रुपैयाँ बजेट फ्रिज भएको उहाँको भनाई छ ।

निर्माण कम्पनीका सञ्चालक श्रेष्ठले अहिलेसम्म आफूले गाउँपालिकाबाट पेस्की बापतको १६ लाख ५० हजार र पहिलो किस्ताको २३ लाख ४ हजार ९ रुपैयाँ बाहेक अन्य भुक्तानी नपाएको बताउँनुभयो ।