टोक्यो ओलम्पिकमा सोनिया र कल्पनाको चुनौती समाप्त



The Tokyo 2020 Olympics Games logo is seen in Tokyo on January 28, 2021. (Photo by Charly TRIBALLEAU / AFP)

नेपाल समाचारपत्र, काठमाडौं । 

टोक्यो ओलम्पिकमा दुई नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । वाइल्ड कार्ड प्राप्त गरेर टोक्यो ओलम्पिकमा छनोट भएका दुई खेलाडी कल्पना परियार र सोनिया भट्टको चुनौती सकिएको हो । सुटिङकी कल्पना महिला १० मिटर एयर राइफल स्पर्धामा पराजित भएर प्रतियोगिताबाट बाहिरिएकी छन् ।

कल्पना उक्त स्पर्धामा ६ सय १६.८ स्कोर गरेर ४६ औं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन् । कल्पनापछि चार प्रतिस्पर्धी रहेका छन् । तर, उनको सो स्कोर भने नयाँ राष्ट्रिय कीर्तिमान निर्धारित भएको छ । उनले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन् । दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उनले ६ सय १४.५ स्कोर गरेकी थिइन् ।कल्पनाले जापानको राजधानी शहर टोक्योको ओशाका सुटिङ रेञ्जमा भएको प्रतिस्पर्धा पहिलो सिरिजमा १ सय २.२ स्कोर गरिन् । यस्तै, उनले दोस्रोमा १ सय ५.४, तेस्रोमा १ सय १.१, चौथोमा १ सय ४.१, पाँचांैमा १ सय ३.४ र छैटौं तथा अन्तिममा १ सय ०.७ स्कोर गरेकी थिइन् ।यस्तै, अर्की नेपाली खेलाडी जुडोकी सोनिया पहलो चरणमै पराजित भइन् । उनी महिला ४८ केजी तौल समूहमा विश्वकी नम्बर नौ खेलाडी रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन् । इरिनासँग सोनिया केवल १ मिनेट १६ सेकेन्डसम्म मात्र टिक्न सकिन् । उनी इरिनासँग इप्पनको आधारमा हारेकी हुन् ।

टोक्योमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट ४ खेलमा गरी ५ खेलाडीले सहभागिता जनाएका छन् । सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट प्रतियोगिताबाट बाहिरिसकेका छन् । बाँकी रहेकोमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा सय मिटर स्प्रिन्टकी सरस्वती चौधरीले खेल्न बाँकी छ ।

पहिलो स्वर्ण याङलाई

जारी टोक्यो ओलम्पिकमा पहिलो स्वर्ण चीनकी याङ कीयानले हात पारेकी छन् । उनले सुटिङ खेलमा स्वर्ण जितेकी हुन् । उनले १० मिटर एयर राइफल स्पर्धामा २ सय ५१.८ स्कोर जोड्दै स्वर्ण हासिल गरिन् । यो ओलम्पिक कीर्तिमानसमेत हो । रसियाकी अनास्टासिया गालासिनाले कियानसँग ०.७ अंकले पछि पर्दै रजतमै सीमित भइन् । स्विट्जरल्यान्डकी नीना क्रिस्टिएनले २ सय ३०.६ स्कोरसहित कांस्य पदक प्राप्त गरेकी छन् ।

इरानलाई स्वर्ण

टोक्यो ओलम्पिकअन्तर्गत पुरुष १० मिटर एअर पिस्टोलतर्फ इरानले स्वर्ण जित्यो । इरानका जाभाद फौरोगीले २ सय ४४.८ स्कोर गर्दै स्वर्ण जितेका हुन् । यो ओलम्पिक कीर्तिमान निर्धारण भएको छ । सिरियाका डामिर मिकेक र चीनका पाङ वेइले क्रमशः रजत र कांस्यपदक प्राप्त गरे ।

ऋाफ्नो पदक आफंै लाउने

यसपटक कोरोना महामारीले गर्दा पदक वितरण समारोह बेग्लै ढंगले गरिएको छ । किस्तीमा पदक राखिएको हुन्छ र विजेता खेलाडीले आफैं लाउनुपर्ने व्यवस्था मिलाइएको छ । यसैक्रममा शीर्ष तीनमा आउने खेलाडीहरूले आ–आफ्नो पदक आफैंले लाउनुपरेको छ । साथै उनीहरूले राष्ट्रिय गीत मास्क लगाएर गाउनुपरेको छ ।

टोक्यो ओलम्पिककी कान्छी खेलाडी पराजित

जारी टोक्यो ओलम्पिकमा कान्छी खेलाडीका रूपमा चर्चा पाएकी हेन्ड जाजा पहिलो चरणमै पराजित भइन् । १२ वर्षीया सिरियाकी खेलाडी जाजाले टेबल टेनिसमा प्रतिस्पर्धा गरेकी हुन् । जाजाको वाल्यकाल युद्धको त्रासमा बिते पनि उनी ओलम्पिकमा प्रतिस्पर्धा गर्न सफल भइन् । उनले आफ्नो सपनाको लागि लड्न प्रेरणा दिएकी छन् ।शनिबार भएको टेबलटेनिसको महिला सिंगल्सतर्फ अस्ट्रियाकी लिउ जियाले जाजालाई ४–० सेटले हराएकी हुन् । उनले हारपछि बताइन्–‘धेरै अनुभवी प्रतिद्वन्द्वीविरुद्ध खेलिरहनु निकै चुनौतीको विषय हो, विशेषगरी यो मेरो पहिलो ओलम्पिक खेल हो । त्यसैले, यो मानसिकरूपमा तयार हुन पनि निकै कठिन थियो । अर्कोपटक म पहिलो, दोस्रो, तेसो चरण पार गर्न धेरै मेहनत गरिहनेछु । म यो प्रतिस्पर्धामा लामो समयसम्म रहन चाहन्छु, केवल पहिलो चरणको लागि होइन ।’

ओलम्पिककी सबैभन्दा राम्री खेलाडी

जर्मनीकी एलिसिया स्मिट विश्वकै सबैभन्दा राम्री र सेक्सी एथ्लिट भनेर परिचित छिन् । यही कारणले होला स्मिटलाई टोक्यो ओलम्पिककै सबैभनदा सुन्दर खेलाडी भनेर घोषित गरिएको छ । जर्मन धाविकाले जारी प्रतियोगितामा ४ गुणा ४ सय मिटर मिश्रित रिलेमा स्पर्धा गर्नेछिन् । नीलो आँखा भएकी उनको इन्स्टाग्राममा फ्लोअर्स १.८ मिलियन संख्यामा रहेका छन् । उनले खेललाई पहिलो प्राथमिकतामा राखेकी छन् ।

स्वीडेनको लगातार दोस्रो जित

तीन दिनअघि ओलम्पिक महिला फुटबलको डिफेन्डिङ च्याम्पियन अमेरिकालाई स्तब्ध तुल्याएको स्वीडेनले टोक्यो ओलम्पिकमा लगातार दोस्रो जित हासिल गरेको छ । स्वीडेनले अष्ट्रिलियालाई ४–२ गोलअन्तरले हराएको हो । यसअघि, पहिलो खेलमा स्वीडेनले अमेरिकाको चुनौती ३–० ले पन्छाएको थियो । समूह ‘जी’ मा रहेको स्वीडेन दुई जितसँगै शीर्ष स्थानमा रहेको छ ।दोस्रो हाफ शुरू भएलगत्तै २–१ ले पछि परेको स्वीडेनले खेलमा फर्केर जित हात पारेको हो । पहिलो हाफ १–१ बराबरीमा समाप्त भएको थियो । दोस्रो हाफ शुरू भएको तीन मिनेटमै अष्ट्रिलियाकी साम केरले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाइन् । ५२ औं मिनेटमा स्वीडेनका लागि हर्टीगले गोल गर्दै खेल बराबरीमा ल्याइन् ।

रोल्फोले ६३ औं मिनेटमा गोल गरेपछि स्वीडेनले पुनः खेलमा अग्रता लिन सफल भयो । यसअघि, खेलमा पहिलो गोल पनि स्वीडेनले नै गरेको थियो । तर, ६९ औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न नसक्दा अष्ट्रिलियाया खेल ३–३ बराबरी गर्नबाट चुक्यो ।अस्टे«लियाका लागि पेनाल्टी प्रहार प्रतियोगितामा दुई गोल केरले गरेकी हुन् । ब्लाकस्टेनिसले ८२ औं मिनेटमा गोल गरेपछि स्वीडेन ४–२ कोबलियो स्थितिमा पुग्यो । यसपछि बाँकी समयमा गोल नहुँदा स्वीडेनले स्पष्ट ३ अंक जोड्न सफल भयो ।अन्य खेलमा चीनले जाम्बियासँग ४–४ बराबरी खेलेको छ भने क्यानाडाले चिलीलाई २–१ ले हरायो । समूह ‘एफ’ अन्तर्गत खेलमा चीनलाई एक अंक दिलाउन चारै गोल वाङ सुआङले गरेकी हुन् । जबकी चीनले एक समय ३–१ को अग्रता लिँदै स्पष्ट ३ अंक लिन तयार भएको थियो । तर, जाम्बियाले यसपछि तीन गोल ग-यो भने चीनले एक गोल मात्रै गर्न सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्